चितवनमा जितिया पर्वको रौनक


कृष्ण आचार्य, चितवन
थारु समुदायका महिलाहरुको महान् चाड जितिया पर्व आज (मंगलबार) धुमधामका साथ मनाईदैछ । चितवनसहित थारु बाहुल्य तराईका २२ जिल्लाका महिलाहरुले जितिया पर्व मनाईरहेका छन् ।

आज थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाईरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाईरहेका छन् । यसअघि विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाईलो गरेका थिए । तीन दिनसम्म विभिन्न धार्मिक कार्यगरी यो पर्व मनाईने थारु महिला अगुवा खैरहनी नगरपालिका–१० की फुलमति चौधरी बताउँछिन् ।

हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पुरा हुने विश्वास रहेको थारु अगुवा जोखा चौधरी बताउँछन् ।

कृष्णपक्ष सप्तमी तिथिदेखि जितिया पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । ब्रतालु महिलाहरु पहिलो दिन नजिकका नदी तलाउमा गईमा नुहाएर चोखिने गरेका छन् । दोस्रो दिनको विहान भाले नबस्दै दर खाएपछि दिनभर निराहर रहन्छन् । दिनभर आफ्नो दुःख पीडा समेटेर गीत गाई नाचगान गर्ने गर्छन् । धार्मिक कथा अनुरुप सूर्यपुत्र जितवाहनको कथा सुन्छन् । यस कथालाई संकटमोचक एवंम सफलताको प्रतिकको रुपमा लिइन्छ । बुधबार विहान सुर्योदयसंगै स्नान गरी पूर्ण रुपले उपवास बसेकी ब्रतालुले स्थानीय नदी किनारमा विष्णु भगवानको आकृति बनाई विधिवत पूजा गरेपछि अन्न ग्रहण गर्छन् र यो संगै जितिया पर्वको समापन हुन्छ ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । जितिया पर्व लोप हुन नदिन चितवनका थारु महिलाहरु सक्रिय बनेको थारु महिला अगुवा रुकमिणी चौधरी चौधरी बताउँछिन् । चितवनमा विशेषगरी थारु बस्ती बाहुल्य रहेको पूर्वी चितवन र पश्चिम चितवनमा यो पर्व मनाईने गरिएको छ ।