दर्जन विभाग र महाशाखा सरकारी कार्यालयमा


ईश्वरराज ढकाल, काठमाडौं
भाडाको घरमा सबै विभाग र महाशाखा व्यवस्थापन गर्न समस्या भएपछि काठमाडौं महानगरपालिकाले झन्डै एक दर्जन विभाग र महाशाखालाई विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरेको छ ।

२०७२ सालको शक्तिशाली भूकम्पले महानगरपालिकाको मुख्यालय वागदरबार क्षतिग्रस्त भएपछि कार्यालय व्यवस्थापनमा अस्तव्यस्त देखिएको कामपाले ३ वर्षपछि विभिन्न कार्यालय खाली रहेका सरकारी कार्यालयमा सारेको हो ।

कामपामा रहेका १३ विभागमध्ये अधिकांश मुख्यालय बाहिर स्थानान्तरण गरिएको छ । देशको एक मात्रै पुरानो र पहिलो महानगरपालिका स्वयं भाडाको घरमा बस्दै आएको छ । सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन केही विभाग र महाशाखा खाली रहेका विभिन्न सरकारी कार्यालयमा स्थानान्तरण गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

‘भत्काउने तयारीमा रहेको बागदरबार पुनर्निर्माण गरिसकेपछि पुनः पुरानै स्थानमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
कामपाले शहरी पूर्वाधार विकास विभाग, राजस्व विभाग, भवन निर्माण इजाजत विभाग र पर्यटन तथा सम्पदा विभाग बबरमहलस्थित तत्कालीन आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर–२ को कार्यालय भवनमा स्थानान्तरण गरिएको छ ।

सहकारी र पशुसेवा विभागलाई बिजुलीबजारस्थित तत्कालीन सहकारी डिभिजन कार्यालय रहेको भवनमा स्थानान्तरण गरिएको छ । बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनमा विपद् व्यवस्थापन विभाग, कृषि, सूचना प्रविधि विभाग, सार्वजनिक निजी साझेदारी एकाइ, सामाजिक विकास विभाग, महिला तथा बालबालिका महाशाखा, शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखामा स्थानान्तरण गरिएको छ । वातावरण व्यस्थापन विभाग टेकुमा रहेको छ ।

त्यस्तै ताहाचलस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालय रहेको भवनमा शिक्षा विभाग र राष्ट्रिय सभागृहमा जिन्सी महाशाखालाई स्थानान्तरण गरिएको छ ।

कामपामा रहेका १३ विभागमध्ये प्रशासन, वित्त, शहरी सुब्यवस्था, कानुन, खरिद एकाइ, पञ्जिका, अन्तर्राष्ट्रिय, महानगर प्रहरी विभागलाई मुख्यालय रहेको जेडइए भवनमा राखिएको छ । सो भवनमा मेयर र उपमेयर सचिवालय, सचिव र एक सहसचिवको कार्यकक्ष राखिएको छ ।

सीमित भवनमा सबै कार्यालय राख्दा काम गर्न व्यवधान पर्ने भएपछि अत्यावश्यकबाहेक अन्य भवनलाई विभिन्न सरकारी कार्यालय रहेको भवनमा स्थानान्तरण गरिएको हो ।

कामपामा प्रशासन, पूर्वाधार विकास, नक्सा, सम्पदा, सामाजिक विकास विभाग, वातावरण, राजस्व, शिक्षा, सहकारी, खरिद, शहरी सुशासन, सूचना प्रविधिलगायतका विभाग रहेका छन् ।

त्यस्तै २५ महाशाखा, ६८ शाखा, ४ सचिवालय, २ आयोग र एउटा एकाइ रहेका छन् । कामपाले विभिन्न सरकारी कार्यालयमा विभाग स्थानान्तरण गरे पनि लाखौं रुपियाँ भाडा तिनुपर्ने हुन्छ ।

तर कामपाले कामलाई चुस्त र दुरुस्त बनाउन विभन्न विभाग र महाशाखालाई सथानान्तरण गरिएको दाबी गर्दै आएको छ । ‘चैतमा वागदरबार भत्काएपछि नयाँ भवन निर्माण शुरु गर्नेछौं, भवन निर्माण भएको ३ वर्षमा सबै कार्यालय एकै स्थानमा राख्ने तयारी गरेका छांै’ –प्रवक्ता कार्कीले भन्नुभयो ।