सीताराम चौधरी, कपिलवस्तु ।
बसको ठक्करबाट कपिलवस्तुमा एक रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका–१, सेमरा बस्ने वर्ष ४५ का सुरेश रैदास रहेका छन् ।
बसपार्कमा बा ३ ख ३४४९ नम्बरको बस ब्याक गर्ने क्रममा रिक्सामा रहेका रैदासलाई पछाडिबाट ठक्कर दिएको थियो । बसले पछाडिबाट ठक्कर दिंदा रिक्सासहित रैदास दुर्गा मन्दिरको पर्खालमा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
बसको लापरबाहीले रैदासको मृत्यु भएपछि आक्रोशित स्थानीयले चक्का जाम गरेका थिए । सवारीधनिले आफ्नो तर्फबाट मृतक रैदासका बालबालिकाको पठनपाठनका लागि राहतस्वरुप नगद २० हजार रुपैयाँ दिएका थिए । यसैगरी मृतकको परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउने प्रहरीको आश्वासनपछि चक्का जाम खोलिएको थियो ।
मृतक रैदासको शवलाई पोष्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको प्रहरी निरीक्षक सूर्य बोगटीले जानकारी दिनुभयो । रैदासलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक भने घटनापछि फरार भएको प्रहरी निरीक्षक बोगटीले बताउनुभएको छ ।











प्रतिक्रिया