सलिम अन्सारी, प्युठान ।
जिल्ला प्रहरी कार्यालय प्युठानले नजिकिँदै गरेको दशैं, तिहार एवं छ्ठ पर्वमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।
सोमबार देखी जिल्लाको प्यूठान नगरपालिका ८ बाग्दुला र माण्डवी ३ चकचकेमा यात्रु सहायता कक्ष संचालन गरिएको हो। चाडपर्वका बेला यात्रुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए।

चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको बुढाथोकीले बताए।
यात्रु सहायता कक्षमा जनपद र ट्राफिक प्रहरी खटाईएको छ। दशैंका लागि भनेर भारतबाट रोजगारी गरेर फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ।

ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने हुँदा सवारी दुर्घटना न्यूनीकरण गर्नु अर्काे उद्देश्य रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालय प्रमुख छबिलाल ढकालले बताए।
प्यूठान भएर बाहिरिने तथा प्यूठान हुदै रोल्पा तर्फ जाने यात्रुलाई यस्ता कुनै समस्या पर्न गएमा तत्काल यात्रु सहायता कक्ष वा जिल्ला प्रहरी कार्यालय प्यूठानको कन्ट्रोल रुमको सम्पर्क नं. ०८६–४२००४९ वा १०० मा सम्पर्क गर्न सकिने जनाईएको छ।











प्रतिक्रिया