यसपालिको दशैं हिलोमुक्त


टीका बन्धन, काठमाडौं
यसपटकको दशैं हिले नहुने भएको छ । मनसुन यस वर्ष विगतमा भन्दा चाँडै निस्क्रिय हुने भएपछि ढिलो गरी आउने दशैं हिलोमुक्त हुने भएको हो ।
विगतका वर्षभन्दा करिब डेढ साताअघि नै मनसुन निस्क्रिय हुने भएपछि अधिकमासका कारण एक महिनापछि सरेको दशैंमा वर्षाले दुःख नदिने मौसमविद्को आँकलन छ । आगामी २/३ दिनभित्रैमा मनसुन निस्क्रिय भएको घोषणा गर्ने तयारीमा मौसमविद् जुटेका छन् ।

गत शनिबार भारतको राजस्थानमा मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको र त्यस्तो प्रभाव नेपालको सुदूरपश्चिम भेगतर्फ पनि देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । राजस्थानको मौसमी प्रभाव भारतको उत्तर प्रदेश, सुदूरपश्चिम हुँदै क्रमशः मुलुकको मध्य र पूर्वीभेगबाट मनसुन बाहिरिने उहाँले जानकारी दिनुभयो ।

दुई तीन दिनमा बिदा हुँदै मनसुन

‘अहिलेसम्मको भारततर्फको लक्षण नियाल्दा नेपालबाट २÷३ दिनभित्रमा मनसुन बाहिरिँदै छ’, उहाँले भन्नुभयो– ‘अधिकांश ठाउँमा वर्षा हुन रोकिएकाले मनसुन छिटै बाहिरिने राम्रो संकेत मिलेको छ ।’ जल तथा मौसम विज्ञान विभाग मातहतको महाशाखाले गत वर्ष असोज ३० मा मात्रै मनसुन निस्क्रिय भएको घोषणा गरेको थियो । त्यस अघि २०१६ मा असोज २६, २०१५ मा असोज ३, २०१४ मा असोज २१ मा मनसुन बाहिरिएको महाशाखाको अभिलेख छ । सन् २०१३ मा भने निकै लम्बिएको मनसुन कात्तिक २ गते मात्रै निस्क्रिय भएको महाशाखाले जनाएको छ ।

सन् २००४ यता मनसुन मध्यअसोजपछि मात्रै निस्क्रिय हुन थालेको मौसमविद्हरु बताउँछन् । साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मको करिब ४ महिनालाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ । नेपालमा जुन १० का हाराहारीमा भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि अन्त्य हुने गर्छ । पूर्वी भेग हुँदै भित्रिने मनसुन यसपटक गत जेठ २५ मा नेपाल भित्रिएको थियो ।

करिब ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहारीमा वर्षा हुने गर्छ । यो अवधिमा करिब १ हजार ४ सय ९२ मिलिमिटर वर्षा हुने महाशाखाको अभिलेख छ । सरदर ९० देखि ११० प्रतिशत वर्षालाई मौसमविद्हरु औषत वर्षा मान्ने गर्छन् । नेपालमा यसपटक अधिकांश भेगमा औषत वर्षा भएको बताउँदै मौसमविद् कँडेलले भन्नुभयो– ‘यसपटक धेरै भू–भागमा ९० प्रतिशतभन्दा माथि नै वर्षा भएको छ ।’