सरकारकै दबाबमा चिनियाँ विमान ल्याइएको खुलासा


दीपेन्द्र थापा, काठमाडौं
सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ । नेपाल वायुसेवा निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जनाकारी गराएको थियो । उक्त विमान नेपालमा उडान गर्न उपर्युक्त नभएको पाइएका कारण देखाई सरकारलाई पत्राचार गरेको थियो ।

नेपाल वायुसेवा निगममा दोस्रो कार्यकालमा फर्किनुभएका निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस्तो बताउनुभएको हो । चीनले सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो । तर केही समयपछि सो विमानमा चरा ठोक्किएको थियो । यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो ।

अध्यक्ष खरेलले भन्नुभयो– ‘निगमले विमानको सपोर्ट सिस्टम राम्रो नपाएपछि अब भने विमान आयात रोक्नुपर्छ ।’ उहाँले विमान आयातको काम रोकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विमानमा समस्याहरु थपिएकाले अरु विमान नल्याउन लागि पत्राचार गर्नुभएको थियो ।

विमानमा समस्या छन्, आइसकेका विमानबारे पनि पुनः सोच्नुपर्ने अवस्था आएको विषयमा सरकारलाई अवगत गराएको बताउँदै अध्यक्ष खरेलले भन्नुभयो– ‘ल्याइएको एक हप्तामै चिनियाँहरुको सपोर्ट सिस्टममा समस्या देखिरहेका छौं ।’ उहाँले पुनः थप्नुभयो– ‘हामी अहिले पनि विमान उडानमा कोसिस गरिरहेका छौं । यसको उपयोग भएको अवस्थामा केही फाइदा भने रहला ।’

निगमले यसरी पहिलो चरणमा आएको विमानमा समस्या देखिएपछि सरकारी तहबाटै विमान आएको थियो । यसकारण सरकारी तहबाटै वार्ता गरेर समस्याको समधान खोजियोस् भन्दै मन्त्रालयलाई अवगत गराएको थियो । निगमले चिनियाँ विमान सञ्चालन गर्न नसक्ने अवगत गराएको थियो । यससँग सरकारले चिनियाँ टोलीसँग पटकपटक वार्ता गरेको थियो । अन्ततः फेरि चीनले सस्तो ऋणमा सरकारलाई ४ विमान दिने नै निर्णय भयो ।

‘नेपालमा तीनवटा राजदूतावास चीन, भारत र अमेरिका बलियो छ यसैको स्वरुप नै निगमले पाएको चिनियाँ विमानको हैरानी हो’ –एक उच्च स्रोतले भन्यो ।

यसरी पटक–पटकको हैरानीपछि निगमले चिनियाँ विमान व्यवस्थापन गर्न लागेको समेत अध्यक्ष खरेलले बताउँदै भनुभयो– ‘हामीसँग पर्याप्त विकल्प छन् टेबलमा, हेरांै लिजमा पनि दिन सक्छौं । स्पेयर पार्ट र सिस्टममा समस्या रहेकै कारण निगमलाई आर्थिक रुपमा सबल हुन दिने अवस्था छैन । वार्षिक रुपमा निगमलाई चिनियाँ विमानबाट ३५ करोड रुपियाँभन्दा बढी घाटा रहेको छ ।’

निगमले सहुलियत ऋण र अनुदानमा पाएको चिनियाँ विमान निगमको लागि घाटा बढाउने माध्यम मात्र भएको छ । चिनियाँ स्पेयर पार्टपुर्जा आयत गर्नुपर्ने भनेको समयमा मर्मत गर्न कठिन र मर्मत गर्ने जनशक्तिको अभाव र पर्याप्त चिनियाँ सहयोग हुन नसक्दा नै निगमलाई घाटा हुन पुगेको बताइन्छ । विमान प्राविधिक कारण ग्राउन्डेड हुँदै आएको छ । तराईमा उडान भरिरहेको ५६ सिटको एमए–६० लामो समयदेखि ग्राउन्डेड छ । अर्काे एमए–६० ले आइतबारबाटै उडान गरेको छ ।

करिब ४ वर्षमा पुनः निगम फर्केका अध्यक्ष खरेलकै पहलमा ४ वर्षपछि नै लुक्ला, डोल्पा र ग्रामीण भेगमा परिक्षण उडान गरेको छ । १७ सिट क्षमताको उक्त विमानमा प्राविधिक कारणले तराई क्षेत्रमा नै ११ र १२ जना मात्र यात्रु सवार गर्न सक्छन् भने पहाडी क्षेत्रमा यसको संख्या अझ कम हुन सक्ने निगमको भनाइ छ ।

तत्कालीन अवस्थामा आन्तरिक बजारमा बलियो उपस्थिति जनाउनका लागि नै चिनियाँ विमान खरिद गर्ने चर्चा सुनिएको थियो । सरकारलाई विमान खरिदको लागि दातृराष्ट्र वा सरकारले नै विमान खरिद गर्न आग्रह गरेको अध्यक्ष खरेलले बताउनुभयो । हाल निगमसँग भएका ४ दशकभन्दा बढी पुराना टिवनअटर पनि अनुदानमै आएका थिए ।

निगमले सरकारसँग गरेको आग्रहपछि सरकारले विभिन्न देशका दुतावासमा खरिदको लागि आग्रह गदै पत्र लेखेको थियो । त्यसमा चिनियाँ सरकारले रुची देखायो, सम्झौता भयो, सुरुवाती चरणमा चीनले निगमलाई जहाज अनुदान र पछि सहुलियत ऋणमा दिने कुरामा सहमती भएको थियो । यससँगै निगमको महाप्रबन्धक भएपछि चीनको राम्रो अफरमा सञ्चालक बोर्डबाट विमान अनुदान र खरिद गर्ने निर्णय पास गरिएको हो ।

खरेलले भन्नुभयो– सरकारी तवरबाट भएको खरिदमा जोडेर आफूलाई चीनीयाँ विमान ल्याएको आक्षेप लगाइकोमा दुः ख लागेको छ ।
उहाँले प्रष्ट पादै भन्नुभयो– ‘हामीसँग प्रशस्त पैसा भएको भए चिनियाँ जहाज खरिद हुँदैन थियो र ?’ सरकारले दुईवटा अनुदान र त्यसमाथि चारवटा विमान सहूलियत ऋणमा विमान पाएको हो ।

नेपाल र चीनबीच वि.स. २०६९ मंसिर १४ गते दुईओटा विमान अनुदान र ४ ओटा विमान सहुलियतपूर्ण ऋणमा लिने सम्झौता भएबमोजिम भित्राएको थियो । वार्षिक १ दशमलव ५ प्रतिशत सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण प्राप्त भएपछि निगमले विमान खरिद गरेको थियो । उक्त बैंकले निगमलाई कल रकमको ६ अर्व ६७ करोड १० लाख रुपियाँमध्ये करिब तीन अर्व ५१ करोड ऋण दिएको थियो ।

२०७३ मा अर्को एमए–६० र एउटा वाइ–१२ विमान ल्याइएको थियो । चीनको हार्विन एयरक्राफ्टले निर्माण गरेको वाइ–१२ ई सिरिजका दुइटा विमान कम्पनीकै पाइलटले उडाएर सम्झौताको लामो समयपछि २०७४ साल फागुन १ मा नेपाल ल्याइएको थियो ।