सीताराम चौधरी, कपिलवस्तु ।
७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिक भइन् फुलमती थारु । हातमा नागरिकता परेसँगै शिवराज नगरपालिका ५, नवडिहवा निवासी फुलमती थारु बल्ल आधिकारिक नेपाली नागरिक बनेकी छन् ।
ढल्किँदो उमेरमा पहिलो पटक हातमा नागरिकता पाएकी फुलमतीमा खुशीको सीमै छैन । पहिलो धोको पूरा भएको बताउँदै उनी भन्छिन्– “सबभन्दा पहिले ६ सन्तानको जन्म सिफारिस बनाउँछु, त्यसपछि नागरिकता बनाइदिन्छु, अनि सँगसँगै भत्ताको लागि पनि फाराम भर्छु ।”

उनको नागरिकता नबनेकै कारण ३ छोरा र ३ छोरी पनि हालसम्म नागरिकता विहीन छन् । नानानतिनाहरुको अहिलेसम्म जन्मदर्ता बनेको छैन । उनका तीन छोरीहरुको विवाह भई नानानतिनाहरु समेत छन् । जेठी छोरी ४५ वर्षकी भइन् तर आमाको नागरिकता नहुँदा अहिलेसम्म नागरिकताबाट बन्चित छिन् । जेठो छोरा भुर्रा ४० वर्षका भए । भुर्राका दुई छोराछोरी छन् तर उनीहरुको पनि जन्मदर्ता समेत छैन । फुलमतीको कान्छो छोरा सुनिल उमेरले २४ वर्ष पुगे । नागरिकता नबनेसम्म विवाह नै नगर्ने संकल्प गरेका सुनिल आमाको नागरिकता बनाउन आफैं दौडधुप गरे । सबै प्रमाण जुटाई बल्ल आमाको नागरिकता बनाउन सफल भएकोमा उनी निकै खुशी छन् ।

फुलमतीका पति छोटु थारु २० वर्षअघि बेपत्ता भए । उनको पनि नागरिकता थिएन । जसले गर्दा नागरिकता बनाउन फुलमतीलाई निकै संघर्ष गर्नुप¥यो । जेठाजु टिट्राको मृत्यु भएको वर्षौं भयो । जीवनमा अनेकौं चुनौतिको सामना गर्दै छोराछोरी हुर्काएकी फुलमती आफैं नागरिकता विहीन हुँदा छोराछोरी समेत हालसम्म गैर नागरिक बनेर बस्नुप¥यो । बल्ल नागरिकता पाएकी फुलमतीको पहिलो इच्छा नै छोराछोरीको नागरिकता बनाउनु रहेको बताउँछिन् । फुलमतीको नागरिकता बनाउन महिला अधिकारकर्मी कमला भुसाल र स्थानीय छिमेकी पार्वती कँडेलको महत्वपूर्ण भूमिका रहेको थियो । भने प्रमाण पूरा भए नागरिकता बनाइदिने हौसला प्रदान गर्नुभएको थियो इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्यालले ।
यसैबीच इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट चालु आर्थिक वर्ष २०७५ को दुई महिनामा ८४२ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । भने असोज ११ गतेसम्म १२४ जनाले बंशजको आधारमा नागरिकता पाएका छन् । साउन र भदौ दुई महिनामा १०५ जनालाई बैवाहिक अंगीकृत नागरिकता प्रदान कार्यालयले असोजको ११ सम्म १४ जना थपिएको शाखा अधिकृत जगदीश अर्यालले बताउनुभयो । प्रशासनबाट साउन १ गतदेखि असोज ११ गतेसम्म प्रतिलिपि नागरिकता ९४७ वटा वितरण भएको शाखा अधिकृत अर्यालले बताउनुभयो । यस्तै नाबालक परिचय पत्र ९ जनालाई दिएको उनको भनाई छ । यसैबीच भदौ १५ बाट शुरु भएको द्रुत राहदानी सेवाबाट हालसम्म १३ जना लाभान्वित भएको शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो ।











प्रतिक्रिया