हेटौंडा ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गर्भवतीलाई मदिरासेवन निषेध गरेको छ । मदिरासेवन समाजको शान्ति, सुरक्षा, स्वास्थ्य र सदाचारिता लागि बाधक रहेको भन्दै स्वस्थ्य, सभ्य, सदाचार र अपराधमुक्त समाज निर्माणका लागि नागरिकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपिल गरेको हो ।
आइतबार विज्ञप्ति जारी गर्दै प्रशासनले मदिरासेवनले आर्थिक, सामाजिक क्षेत्रमा पार्ने नकारात्मक असरका साथै यसको गम्भीर्यतालाई प्रचारप्रसार गरी मदिरा सेवनविरुद्ध अभियानमा सहकार्यको लागि आह्वान गरेको छ ।
प्रशासनले १८ वर्ष उमेर नपुगेका किशोर÷किशोरी तथा १८ वर्ष भन्दा कम उमेरकालाई मदिरा बिक्री बितरण नगर्नेतर्फ पनि सचेत गरिएको छ । मदिरा बिक्री बितरणको इजाजतप्राप्त पसलबाट इजाजत पत्रमा उल्लेखित शर्तको अधिनमा रही दिउँसो १२ बजेदेखि बेलुका ९ बजेसम्म मात्र बिक्री बितरण गर्न, सार्वजनिक स्थानमा मदिरा वा मदिराजन्य पदार्थ सम्बन्धि होर्डिङबोर्ड, पर्चा, पोष्टर टाँस्न, बितरण निषेध, प्लाष्टिक पाउचमा मदिरा प्याकेजिङ गरी उत्पादन तथा बिक्री बितरण पूर्णरुपमा प्रतिवन्ध लगाइने भनिएको छ ।
मदिरासेवन गरेको व्यक्तिलाई सार्वजनिक सवारीसाधन, अस्पताल, विद्यालय, कलेज तथा सार्वजनिक निकायमा प्रवेश निषेध, मादकपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने सवारीचालकलाई प्रचलित कानुनबमोजिम कारबाही, जिल्लास्तरमा रहेका मदिरा उत्पादन, आयात तथा बिक्री बितरण गर्ने स्थान, उद्योग र व्यक्तिको अभिलेख, बिक्री बितरण गर्ने स्थान, उद्योगपतिको अभिलेख (वैधानिक तथा अवैधानिक) दुरुस्त राखिने भनिएको छ ।
डिपार्टमेन्टल स्टोरबाट मदिराजन्य पदार्थ बिक्री गर्ने प्रयोजनको लागि अलग्गै बिक्रीकक्ष अनिवार्य व्यबस्था गर्न, किराना पसलबाट मदिराजन्य पदार्थ बिक्री बितरण गर्न नपाइने, घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण पूर्णरुपमा निषेध र स्थानीय तहसँगको समन्वयमा मदिरा उत्पादन, बिक्री बितरणमा नियमन तथा हानिकारक सेवनमा नियन्त्रणका लागि सरोकारवालाको सहभागितामा विशेष अभियान सञ्चालन गरिने प्रशासनले जनाएको छ ।











प्रतिक्रिया