विराटनगरलाई स्थायी राजधानी कायम गराउन आन्दोलन गर्ने उद्योग संगठन मोरङको चेतावनी

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी कायमगर्न दबाबदिन संगठित प्रयास शुरु भएको छ । राजधानी, बाहिर लाने चलखेल शुरुभएपछि सरोकारवाला एक ढिक्का भएर पहल शुरु गरेका हुन । राजधानी अन्यत्र लाने चलखेल भइरहेको चर्चा बाहिर आएपछि सरोकारवाला संगठित भएर विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न दबाब दिने भएका छन ।

उद्योग संगठन मोरङको अगुवाईमा आइतबार आयोजित अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रमका सहभागि सरोकारवालाले सबै हिसाबले प्रदेश एकको स्थायी राजधानीकालागि विराटनगरनै उपयुक्त भएको निश्कर्ष निकालेका छन ।

कार्यक्रमका सहभागिले ऐतिहासिक,राजनैतिक र भौतिक संरचना लगायत सबै आधारमा स्थायी राजधानीकालागि विराटनगरको विकल्प नएभएको बताएका थिए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले तुलनात्मकरुपमा अन्य शहरभन्दा विराटनगर सबै आधारमा स्थायी राजधानीकालागि उपयुक्त रहँदा रहदै अन्यत्र सार्ने चलखेल हुनु दुर्भाग्यपुर्ण रहेको बताए ।

उनले भने हरेक कुरामा विराटनगर राजधानीका लागि उपयुक्त छ, राजधानी अन्यत्र लाने प्रयास अन्यापूर्ण हुनेछ । विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न दबाबमुलक कार्यक्रम र आवश्यक परे शान्तिपुर्ण आन्दोलन घोषणा गरिने पनि उनले चेतावनी समेत दिए । प्रदेश सभाका सांसद केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न आफुहरु लागिपरेको बताए ।

उनले अन्यत्र राजधानी लग्दा अरबौंको भौतिक संरचना निर्माण गर्नुपर्ने भएका कारण विराटनगरमा भएका भौतिक संरचनाको सदुपयोगगर्दै राजधानी कायम गर्नुपर्ने विचार ब्यक्त गरे । पछिल्लो समय माफिया र जग्गा दलालहरुले आवश्यक पर्याप्त संरचना नै भएको ठांउमा राजधानी लान सांसदहरुलाई विभिन्न सुविधाका नाममा प्रलोभन दिइरहेको दाबी गरे । उनले अन्यत्र भौतिक संरचना निर्माण गर्दा लाग्ने खर्च प्रदेशको विकासमा खर्चिनुपर्ने विचार ब्यक्त गरे ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवबाट पाठ सिकेर समेत विराटनगरलाई नै राजधानी कायम गर्नुपर्ने बताइन । एलिट क्लबका अध्यक्ष भेषराज धमलाले अरबौं लगानी गरेर राजधानी अन्यत्र लानु तर्कसंगत नहुने बताए । प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले सम्पूर्ण मन्त्रालय र महत्वपूर्ण कार्यालयहरु एकैठाँउमा राख्नुपर्ने विचार ब्यक्त गरे ।

चिकित्सक संघका तर्फबाट डाक्टर कैलाश श्रेष्ठ,सामाजिक अभियन्ता दुर्गा चापागाई,संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के,साहित्यकार दिनेश सुवेदी लगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन संघर्ष समिति गठन गरेर दबाबमुलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका छन ।