मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीको गाडी तोडफोड भएको छ ।
प्रदेशको नाम र राजधानीमा असहमती जनाउँदै अनिश्चितकालिन बन्द रहेको धनगढीमा सुदूपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसी चढेको गाडीमाथि तोडफोड भएको हो ।
राजधानी गोदावरी सारेको विरोधमा अनिश्चितकालिन बन्द रहेको धनगढीमा प्रदर्शनकारीले काठमाडौंबाट धनगढी पुगेका मन्त्रालयका उप–सचिव केसीको गाडीमा राजपुरमा ढुंगा प्रहार भएको हो। उनी आज काठमाडौँबाट धनगढी आएका थिए ।
केसीलाई विमानस्थलमा लिन गएको बा १ झ ९७०३ नम्बरको गाडीमा आन्दोलनकारीले पछाडीबाट ढुङ्गा हानेका कैलालीका प्रहरी नायव उपरिक्षक डिएसपी हरि ओलीले बताए । उनको गाडीको सिसा फुटेको छ । गेटा एयरपोर्टबाट धनगढीतर्फ जाँदै गरेको गाडीमा बिपरित दिशाबाट मोटरसाइकलमा आएका युवाहरुको समूहले ढुंगा प्रहार गरेका केसीले बताए ।
अन्य गाडीलाई छोडेर तपाईंकै गडीमा ढुंगा प्रहार हुनु महेन्द्रनगरमा निर्मला पन्तको हत्या छानविनसँग जोडिएर हो कि? भन्ने प्रश्नमा भने उनले अनभिज्ञता प्रकट गरे । प्रमुख प्रतिपक्षी दल नेपालीको कांग्रेसको नेतृत्वमा गत शनिबारदेखि धनगढी अनिश्चिकालीन बन्द छ ।
शुक्रबार (असोज १२ गते) प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतका आधारमा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ तथा स्थायी राजधानी ‘गोदावरी’ नगरपालिकाको वडा नम्बर २ मा राख्ने निर्णय गरेको थियो। तर, यसका लागि भएको मतदानमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । लकांग्रेसले आफ्नो उपस्थितिबिना गरिएको निर्णय मान्य नहुने भन्दै धनगढीमा आन्दोलन उग्र बन्दै गएको छ। बन्दले धनगढीको जनजीवन नराम्ररी प्रभावित छ ।











प्रतिक्रिया