१ सय ३८ बिरामी जाँच्दा ५२ एन्जाइटीका बिरामी


नेपाल समाचारपत्र, ललितपुर
ललितपुरको विभिन्न पाँच स्थानमा मानसिक विरामीहरुको जाँच गर्दा ५२ जना एन्जाईटी अर्थात डरसम्बन्धी रोगी भेटिएको छ । यो संख्या एक सय ३८ जना मानसिक विरामीहरुको जाँच गर्दा भेटिएको संख्या हो ।

२०७२ को भूकम्पपछि ललितपुरको दक्षिणी भेगमा कार्यक्षेत्र बनाई कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक रोगीहरुको पहिचान र उपचार गराउँदै आएको छ । संगठनका ललितपुर जिल्ला संयोजक तथा मनोसामाजिक विमर्शकर्ता संदिप बस्नेतले जिल्लाका लेले, छम्पी, नल्लु, भारदेउ र चौघरेमा उक्त संख्या बराबरको रोगी भेटिएको बताउनुभयो ।

‘वडामा रहेका महिला स्वयमसेविका, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक आदिबाट यस्ता विरामी संपर्कमा आएको छ,’ उहाँले भन्नुभयो–‘हामीले बेला बेला कार्यक्रम बनाई खोजी गर्दा पनि मानसिक रोगीहरु भेट्टाएका छौँ । त्यसमा पनि एन्जाईटिबाट पीडित धेरै देखिएको छ।,’ पारिवारिक गरिबी, आर्थिक अभाव, कमजोर शैक्षिक स्थिति, पारिकवारिक तनाव, साथीभाई बिचको झैझगडा, काम, पढाईमा असफलता, प्राकृतिक प्रकोप पछि यी समस्या देखिने उहाँले बताउनुभयो ।

एक्लै बस्न डराउने, समूहमा कुरा गर्न डराउने, डर लाग्ने, आत्तिने, लगातार एउटै सोचले दुख मानिराख्ने जस्ता लक्षण दुई हप्ता वा त्यस भन्दा बढी दिनसम्म लगातार देखियो भने एन्जाईटि अर्थात डरसम्बन्धी मानसिक रोग भएको बुझिन्छ ।

जिल्ला विभिन्न भागको मानिसमा यी लक्षणहरु देखिएको संगठनले दाबी गरेको छ । यी रोगीहरु १६ देखि ७८ वर्ष उमेर समूहका रहेको संगठनले जनाएको छ।
हेर्दा सामान्य जस्तो देखिने यो रोगको समयमै उपचार गराउन नसके विकराल रुप लिन सक्ने मनोविज्ञहरुको औल्याएका छन् । यसता खाले रोगीले सहि समयमै उचित परामर्श र औषधी उपचार पाउन सके भयाबहको रुप लिनबाट जोखिन्छ ।

यस्ता किसिमका रोगीको उपचार सम्भव रहेकोले समयमै निराकरण गर्नु पर्ने मनोविज्ञहरु सुझाउँछन् । संगठनले हाल लेले प्राथमिक स्वास्थ्य केन्द्रसँग सहकार्य गरेर महिनाको चौँथो बुधबार मनोरोगका विशेषज्ञद्धारा जाँच गर्ने गर्दछ । प्रत्येक विमारीलाई त्यही दिन फलोअपका लागि बोलाउने औषधी थप्ने, जाँच गर्ने गरिने मनोबिमर्शकर्ता बस्नेतले बताउनुभयो ।

संगठनले रोगीहरुलाई सुरुमा मनोसामाजिक परामर्श दिने, थेरापीहरु गर्ने, औषधी दिने र धेरै कडा खालको विमारीलाई कोशिसकै सेल्टरमा राखेर औषधी उपचार गरेर निको पारेर घर फर्काउने र निरन्तर फलोअपका लागि बोलाउने गरेको मनोविमर्शकता बस्नेतले सुनाउनुभयो । संगठनले हालसम्म १२ जना कडा खाले मनोरोगीलाई थप उपचारको लागि सेल्टर पठाएर उपचार भईरहेको छ।

कोशिसले ललितपुरको दुर्गम बस्तीहरुमा पनि यसता खालका रोगीहरु खोजी गरी रहेको जनाएको छ । कोशिसले मानसिक रोगीको पहिचानका लागि महिला स्वयंसेवीकाहरु, प्राथमिक स्वास्थ्य केन्द्र र चौकीका स्वास्थ्य कार्यकर्ताका लागि लाई तालिम दिने गरिरहेको छ ।