चौध वडा एक सचिव


धनवीर दाहाल, रुकुम पूर्व
पुथा उत्तरगंगा गाउँपालिका–१३ की एन्जिला बुढा २ दिन हिँडेर नागरिकताको सिफारिस लिन वडा कार्यालय पुगिन् । वडा कार्यालयमा वडा सचिव नभएपछि सचिवको कामको जिम्मा पाएका स्वास्थ्य चौकी इन्चार्जले सिफारिस लेखिदिए । सो सिफारिस लिएर उनी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा पुगिन् । तर उनले लेखेको सिफारिसको व्यहोरा नमिलेपछि फेरि २ दिन हिँडेर गाउँ फर्कनुपर्ने बाध्यता आइलाग्यो ।

उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । रुकुम पूर्वका दुर्गम बस्तीहरु यस्ता छन् जहाँ एउटै वडामा पनि एउटा टोलबाट अर्काे टोल जान एक दिन लाग्छ । ती ठाउँबाट सेवा लिन २ देखि ४ दिन हिँडेर आएका सेवाग्राहीले समयमा सेवा नपाएपछि रित्तो हात फर्कदा कस्तो हुन्छ होला ? यो पीडा सजिलै अनुमान गर्न सकिन्छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा १४ वटा वडा छन् । एक वडाबाट अर्काे वडा जान २ दिन लाग्छ । सो गाँउपालिकामा एक जना मात्र वडा सचिव छन् । एक जना सचिवले वडा नं १० र ११ को काम गरिरहेका छन् भने अरु बाँकी वडा स्वास्थ्य चौकी इन्चार्जले काम चलाइरहेका छन् ।

–एक वडाबाट अर्को वडामा जान दुई दिन
–गाउँपालिका मात्र छन्, नगरपालिका छैन
–स्वास्थ्यचौकी इन्चार्जले दिन्छन् सिफारिस
–सिंगो जिल्लामै छैनन् इन्जिनियर

वडा सचिव उदिराम रोकाले वडा नं १० र ११ अर्थात् साविकको तकसेरा गाबिसमा रहेका दुई वडाको काम गरिहेको बताउनुभयो । गाउँपालिका मात्र रहेको रुकुम पूर्वमा ३१ वडा छन् । ३१ वडामा २३ वडामा वडा सचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा बाधा पुगेको हो । बाँकी ८ वडा सचिवले सबै वडालाई चलाइरहेकाले पनि प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ ।

यति मात्र होइन रुकुम पूर्व सिंगो जिल्लामा एउटा इन्जिनियरसम्म छैन । जिल्लामा एक जना पनि इन्जिनियर नहुँदा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले बताउनुभयो । ओलीले भन्नुभयो– ‘हामीलाई नयाँ जिल्लाको अनुभूति पनि भएको छैन । संरचना निर्माणमा कठिनाइ छ । भएका संरचना मर्मतका लागि बजेट पनि नभएपछि झन् समस्या भएको छ ।’ रुकुमकोटमा रहेका पुराना भवनमा काम चलाइरहेको भए पनि जीर्ण बनेपछि पुनर्निर्माणमा कठिनाइ भएको हो । जिल्ला समन्वय समितिमा बजेट नहुँदा पुनर्निर्माण गर्न नसकिएको प्रमुख ओलीले बताउनुभयो ।

यसै गरी अन्य भौतिक पूर्वाधार पनि अभाव रहेको उहाँको भनाइ छ । उहाँका अनुसार रुकुम पूर्वका व्यवसायीलाई पनि समस्या भएको छ । घरेलु कार्यालय नहुँदा व्यवसाय दर्ता तथा संचालनमा कठिनाइ भएको छ । जिल्ला हुलाक कार्यालय राख्ने निर्णय भए पनि बजेट नहुँदा समस्या भएको छ । जिल्ला वन कार्यालय नभएपछि वनबाट संकलन भएको राजस्व रुकुम पश्चिममा रहेको वन कार्यालयमा पठाउनुपरेको छ ।