एसिड प्रहार भएको १२ दिनपछि सम्झना दास सम्झनामा मात्र सीमित भएर सदाका लागि बिदा भइन्। बहिनी सुस्मिता अस्पतालमा उपचारत छिन्। चितवनमा वसन्ती परियारमाथि एसिड प्रहार भएको घटना बाहिरियो। उनको शरीरको २५ प्रतिशत भाग जलेको छ।
यस्तो खबरले एकसाथ ममा अथाह आक्रोश र आँशु पैदा गर्छ। सम्झनालाई हार्दिक श्रद्धाञ्जली अनि सुस्मिता र वसन्तीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। महिलामाथि हुने हरेक हिंसाले बिथोल्छ मलाई। त्यसमाथि एसिड भन्नासाथ शरीर नै उम्लन्छ, कहाली लाग्छ। त्यसैले रुद्रप्रिया बनाएँ, एसिडपीडित महिलाको साहस र प्रतिशोधको कथा भन्ने प्रयास गरें।
यस फिल्मलाई मैले महिला हिंसाविरोधी अभियानकै रूपमा लिएको छु। तर, हामीले जति नै आधुनिक भयौं, महिला–पुरुषको विभेद हटायौं भने पनि रुद्रप्रियाहरू अझ जन्माइरहेका छौं। अचम्म त के भने, सम्झनाको ज्यानै जाँदा अनि वसन्ती मृत्युसँग लडिरहँदा पनि विरोधका आवाज मुखरित भएका छैनन्, न उनीहरूको उपचार खर्चकै बारेमा कसैलाई चासो छ। त्यसमा दुई कारण छन्। एक, उनीहरू कथित तल्लो जातका हुन्। अर्को, विपन्न आर्थिक अवस्थाका पनि। त्यसैले त उनीहरूमाथि त्यति विघ्न अन्याय हुँदा पनि हामी मौन छौं। यही घटना शहरको कुनै सम्पन्न परिवारमा हुँदो हो त?
चाहे एसिड आतंक होस्, चाहे बलात्कार। गुदी कारण एउटै छ, जब केटीले केटाको इच्छा अस्वीकार गर्छिन्, कुनै न कुनै रूपको शारीरिक र मानसिक हिंसाको शिकार हुनै पर्छ। सम्झना र वसन्तीको हकमा त्यही भएको हो।
अर्थात्, समाजमा स्त्री भोग्य साधन नै हुन् भन्ने सोच अझ प्रखर हुँदै छ। हाम्रो सुन्दरता नै हाम्रा लागि अभिषाप बनेको छ। के मुस्कुराउनु वा सुन्दर हुनु अपराध हो र? यही पाराले हामी कस्तो समाज निर्माण गर्दै छौं? ठन्डा दिमागले सोच्नुपर्छ। अपराधीलाई कठोरभन्दा कठोर सजाय त हुनुपर्छ नै, तर यतिले मात्र महिलामाथिको आतंक रोकिन्न। त्यसका लागि अभिभावक, परिवार र समाजले हरेक पुरुषलाई हरेक महिला र उनको स्वतन्त्रतालाई सम्मान गर्न सिकाउनुपर्छ। अन्यथा, रुद्रप्रिया जन्मने शृंखला कहिल्यै रोकिने छैन। र, यसो हुनु भनेको, मानव सभ्यतालाई थप प्रदूषित र कलंकित पार्नु हो।
प्रतिक्रिया