पधानमन्त्री ओलीको बोली मात्र, नदी वारपार गर्न तुइनकै भर


किरन धामी, दार्चुला
प्रधानमन्त्रि केपी ओलीले दुई वर्ष भित्रै देशका सबै तुइन विस्थापित गर्ने घोषणा गरेको ३ वर्ष विति सक्दा पनि दार्चुलाका तुइन अझै विस्थापित हुन सकेका छैनन् । २०७२ मा प्रधानमन्त्री हुने बेला केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरेका थिए । तर दार्चुलाका स्थानीयले भने अहिले पनि तुइनबाटै महाकाली नदी वारपार गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सकेका छैनन् ।

एउटा मसिनो रसी जस्तो ग्याबिन तारमा झुन्डिएर महाकाली नदी वारपार गर्न निकै कठिन हुन्छ । नदी तर्दै गर्दा बिग्रियो वा तर्न नसकेर बीचमै अड्किँदा नदीमा खस्ने सम्भावना उत्तिकै रहन्छ । दार्चुलाको उत्तरपश्चिमी गाउँका स्थानीय बासिन्दा भने वर्षौ देखि यस्तै कहाली लाग्दो यथार्थ दिन दिनै भोगिरहेका छन् । भारत सँग सीमा जोडिएको महाकाली नदीमा पुल नहुँदा स्थानीय तुइनकै भर पर्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकाम खलंगा जान तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि ब्याँस गाउँपालिकाका बासिन्दा तुइन प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । यो नदीमा तुइनबाट वारपार गर्नु अत्यधिक खतरा मानिन्छ । ‘दैनिक उपभोग्य वस्तु ल्याउन र सरकारी कामकाजका लागि सदरमुकाम जानैपर्छ । नदी तर्न तुइन बाहेक अर्को विकल्प छैन, ब्याँस–२ का स्थानिय नरेन्द्र बुढाथोकीले भने । तुइन चुँडिन्छ कि भन्ने डर लाग्ने गरेको भए पनि निकै जोसका साथ तुइन बाटै वारपार गर्ने उनको भनाई छ ।

पुल निर्माण नहुँदा व्यास गाउँपालिकाका बासिन्दाले तुइनको सकस खेप्दै आएका छन् । जिल्ला सदरमुकाम जान विदेशको बाटो प्रयोग गर्नुपर्छ । ‘स्वदेशबाट सदरमुकाम पुग्न एक दिन पुरै लाग्दछ । वर्षातमा झन् बाढी–पहिरोको जोखिम मोल्नु पर्ने हुन्छ,’ ब्याँस–४ डोकटकी धनादेवी विष्टले भने । ‘भारतमा गाडी सुविधा हुनाले एक दिनमै सदरमुकामको काम भ्याएर घर पुगिने उहाले बताउनु भयो । एक दिन बजार बस्नुपर्ने बाध्यताबाट मुक्त पाउनका लागि खतरा मोलेर भए पनि तुइन तर्दै आएको उनको भानई छ ।

जिल्लाका उत्तरी महाकाली तटीय क्षेत्र आसपासका स्थानीयको दैनिकी तुइन मार्फत चलेको हुन्छ । तुइनको सकस सकिए पछि भारतको मोटर मार्ग प्रयोग गरे सजिलै सदरमुकाम पुग्ने हुँदा यहाँका स्थानीय तुइनको जोखिम मोल्ने गर्दछन् । नेपाल तर्फ भरपर्दो बाटो नहुँदा आफुहरू भारतीय बाटो प्रयोग गर्न बाध्य भएको ब्याँस–२ का वडाध्यक्ष धीरेन्द्र सिंह बुढाथोकीले बताए । सबथोक भारतबाटै ल्याउनुपर्ने हँुदा तुइन नतरे परिवार भोकै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

ब्याँस गाउँपालिकाकै तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल बने पनि अन्य ठाउँमा अझै तुइन विस्थापनको नारा सफल हुन सकेको छैन । लेकम गाउँपालिकाको लालीमा पुल निर्माण कार्य अगाडि बढेको भए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन । लेकम क्षेत्रका बासिन्दा ट्युब चढेर महाकाली तर्दै आएका छन् ।

ब्याँस गाउँपालिकाको माल, बत्र्तीघाट, बडुगाउँ र मालिकार्जुन गाउँपालिकाको बाकुमा झोलुंगे पुल निर्माण हुने भनिए पनि भारतबाट निर्माणको अनुमति नआउँदा रोकिएको छ ।