युवालाई स्वरोजगार बनाउन करोडौं लगानी


महेश न्यौपाने, रोल्पा
दिनानुदिन विदेश पलायन भईरहेको युवा शक्तिलाई स्वदेशमै स्वरोजगार वनाउने उद्धेश्यका साथ स्थापना गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषवाट रोल्पामा ११ करोड लगानी गरिएको छ । कोषले प्रत्यक्ष रुपमा जिल्लाका २३ सहकारी संस्था मार्फत १० करोड लगानी गरेको छ भने कृषि विकास वैंक मार्फत जिल्लाका थप ३ सहकारी संस्था मार्फत १ करोड समेत कुल लगानी रकम ११ करोड पुगेको छ ।

कोषसंग संझौता गरि लिएको कर्जा सहकारी संस्थाहरुले युवा तथा साना व्यवसायीहरुमा लगानी गर्ने गर्दछन । तरकारी खेती,फलफुल खेती,कुखुरापालन, वाख्रापालन, माछापालन, फेन्सी पसल, फर्निचर उद्योग, मिल संचालन, जडीवुटी खेती लगायतका क्षेत्रमा गरिएको लगानीवाट हाल सम्म ९ सय २९ जना साना व्यवसायि लाभान्वित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति रोल्पाका सदस्य सचिव ज्ञानेन्द्र शर्माले जानकारी दिए । कर्जाको व्याज स्वरुप सहकारी संस्थाले वार्षिक ५ प्रतिशत र व्यक्तिले १० प्रतिशत भुक्तानी गर्ने गर्दछन सदस्य सचिव शर्माले भने । सहकारी संस्थाले प्रति व्यक्ति वढीमा २ लाख सम्म लगानी गर्ने गर्दछन शर्माले भने ।

कोष मार्फत विभिन्न चार चरणमा सो रकम लगानी गरिएको शर्माले जानकारी दिए । कोषको रकम दुरुपयोग हुन नदिन तथा लक्षित समुदाय सम्म पु¥याउने सुनिश्चितताका लागि निरन्तर अनुगमन समेत हुने गरेको शर्माले जानकारी दिए । सहकारी संस्था संग नियमित समन्वय र व्यवसायी संग संपर्कमा रहेर काम गरिरहेका छौ शर्माले भने । लगानी गरिएको रकम अहिले सम्म दुरुपयोग भएको सुन्नमा आएको छैन शर्माले भने ।

कोषवाट सयौं युवाहरुले कर्जा लिएको भए पनि हाल सम्म निकै थोरै व्यवसायीहरु मात्र सफल देखिएको वताइएको छ । लुंग्रीमाडी कृषि सहकारी संस्था मार्फत कर्जा लिई २५ जना व्यवसायीहरुले माडीचौरमा कुखुरा पालन गरिरहेका छन । तीन हजार ५ सय वढी कुखुरा पालेको सो फर्मवाट दैनिक ३ हजार वढी अण्डा विक्री हुने गरेको वताइन्छ । फर्मवाट ४ जना प्रत्यक्ष र ११ जना अप्रत्यक्ष रोजगार भएको लुंग्री माडी कृषि सहकारी संस्थाले जनाएको छ । सो संस्थाले कृषि विकास वैंक मार्फत कर्जा लिएको थियो । सदरमुकाम लिवाङमा रहेको मेचीकाली वचत तथा ऋण सहकारी संस्थावाट कर्जा लिएका व्यवसायीहरुले समेत तरकारी खेती, वंगुरपालन,वाख्रापान, कुखुरापालन जस्ता व्यवसाय गरिरहेको शर्माले जानकारी दिए । उत्तरी रोल्पाको थवाङमा रहेको अजम्वरी कृषि सहकारी संस्थावाट कर्जा लिई ४ युवाहरुले सामुहिक भुइ स्याउ खेती गर्दै आएको वताइएको छ ।

सहकारी संस्था मार्फत कोषले कर्जा दिन थाले संगै महिला दिदी वहिनीहरुले साना तिना व्यवसाय गर्दै आएको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तुलसा आचार्यले वताईन । सहकारी मार्फत ऋण लिई व्यूटी पार्लर, खुद्रा पसल, तरकारी खेति, च्याउ खेती, चियानास्ता पसल जस्ता जोखिम कम हुने व्यवसायमा महिला दिदी वहिनी लागेका छन आचार्यले भनिन । ऋािणहरुले सहकारी संस्थामा नियमित व्याज र वचत समेत गरिरहेका छन अध्यक्ष आचार्यले भनिन । सगरमाथा महिला सहकारी संस्था मार्फत १ लाख ऋण लिई तरकारी पसल गरिरहेकी रोल्पा नगरपालिका २ की कमला रिजालले तरकारी पसलवाट दैनिक घर व्यवहार चलाउन सजिलो भएको वताईन । हरेक तीन महिनामा सावाँ र मासिक रुपमा व्याज भुक्तानी गरिरहेको छु रिजालले भनिन ।

अन्य जिल्लामा कोषको रकम सदुपयोग हुन नसकेको समाचार आउने गरे पनि रोल्पामा भने त्यस्तो समस्या नरहेको वताइएको छ । विभिन्न दल निकट व्यक्तिहरुका आ–आफ्ना सहकारी संस्था रहे पनि सवैले नियमित किस्ता र व्याज वुझाउने गरेको वताईन्छ । नियमित रुपले किस्ता तथा व्याज भुक्तान गर्नेलाई कोषले व्याज अनुदान समेत दिने गरेको छ । पहिलो चरणमा व्याज अनुदानका लागि जिल्लाका ७ वटा सहकारी संस्थाका तीन सय व्यवसायी सिफारिस गरेको कोषको जिल्ला संयोजन तथा अनुगमन समिति रोल्पाले जानकारी दिएको छ ।