दौरा सुरुवाल लगाउन दवाव


गंगा बराल, काठमाडौं ।
परम्परा र संस्कृति लोप हुने क्रममा रहेको भन्दै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय पोशाक घरले सरकारलाई राष्ट्रिय पोशाक घोषणा गर्न दबाब मूलक अभियान थालेको छ ।

भोलि शनिबार १२ बजे बबरमहलको कार्की व्यांकेटमा सबै युवायुवतीको सहभागितामा अभियान अघि बढाउने संयोजक राजानन्द माण्डव्यले जानकारी दिनुभएको छ । ‘यो अभियान चलाएको धेरै भयो तर सरकार र सम्बन्धित निकायले नसुनेपछि दबाबमूलक कार्यक्रम नै गर्ने सोच अघि बढेका छौं’ माण्डव्यले भन्नुभयो–हामी नेपालीको दौरा सुरुवाल र साडी चोलो पहिचान हो, यसलाई बचाउनु हाम्रो कर्तव्य भइसकेको छ ।’

अभियानले सबैलाई औपचारिक पोशाकमा आउन निम्तो गरेको छ । सरकारले राष्ट्रिय जनावर, रंग, पंक्षीलगायतको घोषणा गरेको छ भने पोशाक यही हो भनेर भन्न सरकारलाई अप्ठेरो पर्ने कुनै कारण नभएको कार्यक्रम संयोजक श्याम बजगाईले दावी गर्नु भएको छ ।

‘सम्भव नहुने वा सरकारले पूरा गर्न नसक्ने माग गरेका छैनौं तर हाम्रो पहलले प्राथमिकता पाउन सकेन ’ बजगाइले भन्नुभयो–अन्य देशले पनि राष्ट्रिय पोशाक घोषणा गरेर व्यवहारमा ल्याएका छन्, हामी कहां राष्ट्रिय पोशाक घोषणा गर्न समस्या छैन ।

भारतले कुर्ता, पाइजामा र जुहारी कोट, भूटानले किरालाई राष्ट्रिय पोशाक मानेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँले सबैले चाहेको र लाएको पोशाक नै राष्ट्रिय पोशाक भएको भन्दै एक टेलिभिजनलाई अन्तरवार्ता दिनुभएको थियो । पूर्व प्रधानमन्त्री औपचारिक पोशाक दौरा सुरुवाल र साडी चोलोलाई पनि संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

राष्ट्रिय पोशाक घरले ५ वर्षअघिबाट निरन्तर रुपमा दबाबका कार्यक्रम गर्दै आएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोशाक दिवस घोषणा गर्न आग्रह गरेकोे छ । यो दिनलाई राष्ट्रिय टोपी दिवस भन्दै मनाउने गरिएको छ । पोशाक घरको अगुवाइमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल गठन गरिएको छ । महाअभियानमा आवद्ध हुन चाहनेले त्यहीँबाट पोशाक पनि किन्ने गरेका छन् । महाअभियानका सदस्य रामहरी धितालले राष्ट्रिय पोशाक घोषणा गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभयो । ‘सबैले मानी आएको जे छ त्यसलाई औपचारिक रुपमा घोषणा गर्न जनदबाबको आवश्यक रहेको धितालले बताउनुभयो ।

महाअभियानले कैलाली, बाँके, कास्की, सुर्खेत, दाङ, पर्वत, चितवन, नवलपरासी, धादिङ, काभ्रे, ताप्लेजुङ, झापा, सुनसरी र मकवानपुरमा जिल्ला शाखा पनि खोलेर अभियानमा सहभागी हुन आव्हान गर्दै आएको छ । महाअभियानको कार्यक्रममा मन्त्री, सांसद, संस्कृतिविद्, कानुन व्यवसायीका साथै सर्वसाधारणलाई पनि ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।

ललितपुरको युनाइटेड एकेडेमीले बुधबार र नयाँ बानेश्वरको लिभरपुल स्कुलले मंगलबार विद्यार्थीलाई राष्ट्रिय पोशाक लगाउन अनिवार्य गरेको छ ।

विद्यार्थीहरु दौरा, सुरुवाल र गुन्यू चोली लाएर आउने गर्छन् । काभ्रेको नमोबुद्ध नगरपालिकाले औपचारिक कार्यक्रममा दौरा सुरुवाल र साडी चोलो लगाउन अनिवार्य गरेको छ । नगरपालिकाका मेयर टंकप्रसाद तिम्सिनाले आफूलाई प्रायजसो दौरा सुरुवाल लगाउन मन लाग्ने बताउनुहुन्छ ।

‘मलाई त सधैं नै यही पोशाक लगाउन मन लाग्छ तर पनि कहिलेकाँही गाउँतिर जाँदा सम्भव हुँदो रहेनछ ’ मेयर तिम्सिनाले भन्नुभयो–सरकारले दौरा सुरुवाल र गुन्यू चोलोलाई संरक्षण गर्न राष्ट्रिय पोशाक घोषणा गर्नुपर्छ, यो हाम्रो मौलिकता पनि हो ।’