इरानसँगको व्यापारमा ईयूको नयाँ भुक्तानी व्यवस्था नोक्सानदायी हुने चेतावनी


वासिङ्टन, (एजेन्सी)
अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धबाट बच्नका लागि विभिन्न देशद्वारा विशेष भुक्तानी संयन्त्र विकासको प्रयास नोक्सानदायी प्रमाणित हुने चेतावनी दिएको छ।
युरोपेली संघले उक्त इस्लामिक देशसँग कानुनीरूपमा व्यापार शुरू गर्नका लागि एक नयाँ व्यवस्था स्थापित गर्ने निर्णय गरेको केही समयपछि अमेरिकाको उक्त बयान आएको हो।
यसै वर्षको शुरूआटमा ट्रम्प प्रशासन २०१५को इरान परमाणु सम्झौताबाट हटेका थिए र त्यसको लगत्तै तेहरानमाथि कडा प्रतिबन्ध पुनः लगाएका थिए।

इरानमािथ पहिलो चरणकै प्रतिबन्ध पहिलेदेखि नै लागू छ, यसबीच व्यापक प्रतिबन्ध नोभेम्बर ४ बाट पूर्णरूपमा लागू हुनेछ। अमेरिकाले भारतसहित सबै देशले त्यतिबेलादेखि इरानबाट तेलको आयात बन्द गर्ने अपेक्षा गरेको छ। अमेरिकाको ट्रम्प प्रशासनले यदि कुनै देश इरानसँग व्यापार जारी राख्छ भने अमेरिकी बंैकिङ तथा आर्थिक संयन्त्रमा उसको पहुँच अवरुद्ध हुने स्पष्ट गरेको छ।

यद्यपि संयुक्त राष्ट्रले उक्त प्रतिबन्धलाई लागू गरेको छैन। भारतले पनि संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा लगाएका प्रतिबन्धलाई मात्र लागू गर्ने नीति लिएको बताइएको छ।
भारत इरानबाट तेल आयात गर्ने सबैभन्दा ठूलो देशमध्यको एक हो र उसले हालैको सम्झौतामा तेलको आयातलाई घटाएको छ। तर उसको ऊर्जा आवश्यकतालाई हेर्दा आयात बन्द गर्ने सम्भावना न्यून रहेको बताइएको छ। भारत र अमेरिका यस मुद्दामा छलफल गरिरहेका छन्।
यसैबीच ईयूले इरानसँग तेल र अन्य सामग्रीको व्यापार कायम राख्न अमेरिकाको दण्डनीय कारबाहीबाट बच्नका लागि नयाँ भुक्तानी संयन्त्र विकसित गर्ने घोषणा गरेको थियो। युरोपेली संघको उक्त बयानप्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले मंगलबार त्यसलाई सर्वाधिक प्रतिकूल कदममध्यको एक भएको प्रतिक्रिया दिएको हो।