भेनिसका सडकमा रक्सी र वियर बोक्न नपाइने


भेनिस, (एजेन्सी)
हरेक वर्ष ठूलो संख्यामा पर्यटक पुग्ने गरेको इटालीको भेनिस शहरका सडकहरूमा अबदेखि बोतल बोकेर हिंड्न नपाइने नियम लगाइने भएको छ। सँँझ सात बजेपछि सो शहरले कसैलाई खुल्ला रुपमा मात्र नभई सपिङ ब्यागभित्र समेत बन्द रक्सीको बोटल बोक्न नदिने योजना बनाइरहेको छ।
प्रहरीले भेनिसवासीहरूलाई रक्सी बोकेर घरमा जाँदै गरेको अवस्थामा भने नरोक्ने तर सडकमा कुनै हालतमा मात्तिन नदिने योजना बनाएको बताएको छ। प्रत्येक वर्ष ऐतिहासिक केन्द्र भेनिसमा लाखांै पर्यटक पुग्ने गरे तापनि त्यहाँको जनसंख्या भने केवल ५५ हजार रहेको छ।
इटालीको अन्सा समाचार निकायले आगामी अक्टाबरमा पारित हुन लागेको यससम्बन्धी कानुनअनुसार कुनै पनि प्रकारको अल्कोहलयुक्त पेय पदार्थ सार्वजनिक स्थलमा बोक्न र उपभोग गर्न नदिइने जनाएको छ। भेनिसको कोर्रिएरे डेल्ला सेरा नामक अखबारले इटालीको सम्पूर्ण उत्तरपूर्वी भागकै यो अहिलेसम्मकै सबैभन्दा कडा नियम सावित हुने जनाएको छ।
तर स्थानीय वरिष्ठ प्रहरी अधिकृत मार्को अगोस्टिनीले आन्सलाई भनेका छन् , –‘हाम्रो कारबाहीको तारो सुपरमार्केटहरूबाट रक्सी किनेर निस्केका व्यक्तिहरू हुने छैनन्। यदि कसैलाई बाटोमै मात्तिएको अवस्थामा भेट्दा उनको ब्यागमा वियर वा रक्सी भेटिएको खण्डमा भने ती व्यक्तिमाथि अवश्य कारवाही हुनेछ।’
यसै शहरले हालै कसैलाई पनि भुँइमै बस्न वा पल्टिन नपाउने विवादास्पद योजना घोषणा गरेको थियो। यसबारे पनि अक्टोबरमा संसद्मा मतदान हुने भएको छ। यदि यो कानुन पारित भएको खण्डमा प्रतिबन्धित स्थानमा बस्न ेकुनै पनि पर्यटकलाई ५० देखि ५ सय युरो सम्म जरिवाना हुन सक्छ।