शौचालयमा बालिका बलात्कृत


जोहान्नेसवर्ग, (एजेन्सी)
एउटा रेस्टुरेन्टको शौचालयभित्र एक सात वर्षीया बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएपछि दक्षिण अफ्रिकालीहरू निकै आक्रोसित भएका छन्। प्रहरीका अनुसार नाम नखुलाइका ती २० वर्षीय पुरुषले ती बालिकालाई महिला शौचालयसम्म पछ्याएर उनलाई त्यहँँबाट जबर्जस्ती तानेर पुरुष शौचालयमा लगेर बलात्कार गरेका थिए।
घटनास्थलबाटै रंगेहात पक्राउ परेका ती युवकको साथबाट लागूऔषध पनि बरामद भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। अहिले म्याद थपेर हिरासतमा राखिएका उनलाई अझैसम्म पनि कानुनी सहारा लिने अनुमति प्रदान गरिएको छैन।
दक्षिण अफ्रिका संसारमै सबैभन्दा बढी संख्यामा बलात्कार हुने मुलुक हो। प्रहरीको तथ्यांकअनुसार १२ महिना यता अर्थात गत ३१ मार्चसम्ममा ४० हजार ३५ वटा बलात्कारका उजुरी परेका छन्। यस हिसाबले त्यहँँ औसतमा दिनको १ सय १० जना महिलामाथि बलात्कार हुने गरेको पाइएको छ।
गतवर्ष भने ३९ हजार ८ सय २८ जना महिला बलात्कारको शिकार भएका थिए। शनिबार राजधानी प्रिटोरियाको एक रेस्टुरेन्टमा ती सात वर्षीया बालिका बलात्कृत भएपछि सारा दक्षिण अफ्रिकी जनताले बालबालिकाको सुरक्षाको माग गरेका छन्।