बेलायती करोडपति दम्पतीको थाइल्यान्डमा हत्या


बैकक, (एजेन्सी)
संयुक्त अधिराज्यका एकजना करोडपति र उनकी थाइ पत्नीको लाश उत्तरी थाइल्यान्डमा मंगलबार फेला परेको छ। प्रहरीले तिनीहरूको पैसा दिएर पेशेवर हत्याराहरूबाट तिनीहरूको हत्या भएको अनुमान गरेको छ। हत्या भएको झण्डै एक सातापछि मात्र प्रहरीले तिनीहरूको शव फेला पारेका हुन्।

६४ वर्षीय एलन होग र ६४ वर्षीया नोड सडाएनको लाश फ्राए प्रान्तमा तिनीहरूकै निवास परिसरमा गाडिएको अवस्थामा भेटाइएको हो। प्रहरीले बेलायतको एडिनवर्ग निवासी होगको गोली हानेर र उनकी पत्नीको घन प्रहार गरी हत्या गरिएको बताएको छ।

यस सम्बन्धमा थाइ प्रहरीले तीनजना आशंकित व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ। तिनीहरूलाई नोड सडाएनका भाइले हत्याका लागि भाडामा लिएको आरोप प्रहरीले लगाएको छ। उनलाई पनि प्रहरीले गिरफ्तार गरिसकेको छ। स्थानीय प्रहरी कमान्डर मानास केर्दुसुखोले लामो समयदेखि चल्दै आएको पारिवारिक कलह र सम्पत्ति विवादका कारण तिनीहरूको हत्या भएको हुनुपर्ने एएफपी समाचार निकायलाई बताएका छन्।

होगको निवासबाट बाहिरिएको सवारी साधनलाई पछ्याउँदै प्रहरी ती तीनजनालाई पक्रन सफल भएको हो। पछि तिनीहरूले प्रहरीसमक्ष ती दम्पतीको हत्या गरेको स्वीकारेका थिए। थाइल्यान्डस्थित बेलायती दूतावासले यस विषयमा अहिलेसम्म कुनै पनि सार्वजनिक टिप्पणी गरेको छैन।