सुनिललाल स्मृति भारोत्तोलन बुधबारदेखि

0
Shares

काठमाडौं, (नेस)
नेपाल भारोत्तोलन संघका पूर्वउपाध्यक्ष ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको ‘दोस्रो नेपाल्स स्ट्रङेस्ट २०१८’ सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता अर्को साता हुने भएको छ।
असोज १७ र १८ गते हुने प्रतियोगिता अग्नी ब्याङ्क्वेट, कुमारीपाटी, ललितपुरमा आयोजना हुनेछ। प्रतियोगितामा पुरुष सिनियर तथा जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि ८ तौल समूह र महिला सिनियर र जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि ७ तौल समूहमा ३ विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करिब १ सय खेलाडीहरूले कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सिनियर महिला तथा पुरुष दुवैतर्फ सबैभन्दा बढी भार बहन गर्ने खेलाडीहरूलाई दोस्रो बलशाली महिला तथा पुरुष २०१८ उपाधिका साथै प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरिनेछ। यसैगरी सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूलाई नगद तथा प्रमाणपत्र तथा जुनियरतर्फ उदियमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रादान गरिनेछ। जुनियर तर्फ २० वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउनेछन्।
जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूलाई खाने तथा बस्ने व्यवस्था बाबा गेस्टहाउस, कलंकीमा आयोजकले व्यवस्था गरेको आयोजकले जनायो।