उपाधि जित्ने लक्ष्य महिला टोलीको


नेपाल समाचारपत्र, काठमाडौं
भुटानमा हुने यु १८ महिला साफ च्याम्पियनसिप जित्ने लक्ष्यका साथ नेपाली यु १८ महिला फुटबल टोली त्यसतर्फ बुधबार प्रस्थान गरेको छ।
पहिलो पटक हुन लागेको सो प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार नै पहिलो खेल थिम्पुको चांगलिमीथांग रंगशालामा खेल्नेछ। समूह बी मा रहेको नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान हुनेछ। यस्तै नेपालले समूहकै बलियो टोली बंगलादेशसँग असोज १६ गते खेल्नेछ। ६ राष्ट्र सम्मिलित समूह बी तर्फ भारत, आयोजक भुटान र माल्दिभ्स रहेका छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने हुनाले नेपालका लागि पहिलो खेल नै जित्नुपर्ने दबाब छ।

नेपाली यू १८ टोली
गोलकिपरः अन्जना राना मगर, उषा नाथ र कविता राई।
डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, विमला विक, कोपिला धिमाल, पूजा रानामगर, समीक्षा घिमिरे र पुनम फरसवान।
मिडफिल्डरः कप्तान सरु लिम्बू, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, सुहानी कुसुवार, सम्झना लावती, मनिषा राउत र सृजना सिंह ठकुरी।
फरवार्डः रश्मी कुमारी घिसिङ, सम्झना शर्मा, रेखा पौडेल र एलिसा जाम्बा
प्रशिक्षकः हरिओम श्रेष्ठ

यस्तै टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले तयारी राम्रो भएकाले जित्ने लक्ष्य लिएको बताएका थिए। उनले नेपाल समाचारपत्रलाई बताएका थिए—टोलीको तयारी एकदमै राम्रो भएको छ। हामी बंगलादेश र पाकिस्तानको समूहमा परेका छौ। बंगलादेश अलि बलियो देखिएको छ। तापनि हाम्रो टोलीमा राष्ट्रिय खेलाडी पनि सम्मिलित भएको हुँदा टोलीले राम्रै नतिजा निकाल्नेछ। मेरो लक्ष्य भनेको उपाधि जित्ने नै हो।