ललितपुर र कीर्तिपुरमा सम्पदा यात्रा

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
विश्व पर्यटन दिवसको अवसरमा आज बिहीबार ललितपुरमा विविध कार्यक्रम गरी मनाइने भएको छ। ललितपुर उद्योग वाणिज्य संघले दिउँसो नगरका विभिन्न ऐतिहासिक सम्पदा यात्रा कार्यक्रम राखिएको संघको पर्यटन तथा संस्कृति विकास समितिका संयोजक लजना श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘ललितपुर कला संस्कृति संरक्षण गर्दै पर्यटन विकासमा टेवा पु¥याउन सकिन्छ। यही सन्देश प्रवाह विविध कार्यक्रम गर्न लागेका हौं।’ –संयोजक श्रेष्ठले भन्नुभयो। पाटन घुम्न आउने विभिन्न राष्ट्रका पर्यटक एवं स्वेदशी पर्यटकलाई परम्परागत बाजागाजाका साथ पाटन दरबार क्षेत्र, हिरण्यवर्ण महाविहार,लगायत विविध सम्पदा, कला, संस्कृतिको अवलोकन गराइनेछ। त्यसै गरी साँझ नेवारी खाजाको रसास्वादनसँगै सांगीतिक प्रस्तुति र दीपावली कार्यक्रम हुने पनि समितिले जनाएको छ।

दीपावली कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १२ र १६ पनि सहयोग रहनेछ। दीपावली कार्यक्रममा १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको संयोजकत्वमा रहेको वडास्तरीय स्वयंसेवक परिचालन गरिने पनि बताइएको छ। त्यसै गरी महानगरपालिका र संघले ललितपुर घुम्न आउने पहिलो पर्यटकलाई स्वागत गरिनेछ।
सोही अवसरमा कीर्तिपुर नगरपालिकाले आज बिहीबार सम्पदा यात्रा कार्यक्रम गर्ने भएको छ।

कीर्तिपुर ऐतिहासिक सम्पदाहरू चिनाउने, त्यसबारे प्रचारप्रसार गर्नका लागि नगरपालिकाले सो यात्रा गर्न लागेको हो। नयाँ बजारबाट शुरू हुने सम्पदा यात्रा चिलञ्चो, बाघभैरव मन्दिर, उमा–महेश्वर र बाटोमा पर्ने सम्पदास्थल हुँदै लाøकुमा समापन हुने नगरपालिकाले जनाएको छ। सम्पदा यात्राका क्रममा विभिन्न ऐतिहसिकस्थलहरूमा चित्रकारले आ–आफ्नो सिर्जना प्रस्तुत गर्ने, टोल–टोलमा परम्परागत बाजागाजाको प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको छ। त्यसै गरी वडा नं ३ स्थित खसीबजारको ऐतिहासिक पोखरीमा नौका विहार गरिने पनि बताइएको छ।
नगरपालिकाले पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर योजना तयार गरिरहेको सन्दर्भमा सो दिवस मनाउन लागिएको नगरपालिकाका प्रमुख रमेश महर्जनले बताउनुभयो।