निक र प्रेरणा च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं
तेस्रो वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत सिंगल्सका उपाधि निक रासट्रप र प्रेरणा कोइरालाले जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको पुरुष सिंगल्स फाइनल खेलमा निकले जितेन्द्र परियारलाई ४–६, ७–५ र ६–३ ले हराएर उपाधि जितेका हुन्। यो उनको पहिलो उपाधिसमेत हो। निकले पहिलो चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छनक देखाएका थिए। उनले पहिलो सेट हारेर पनि खेलमा कमब्याक गर्दै जितेन्द्रको उपाधि जित्ने आसामाथि तुषारापात गरे। अघिल्ला दिन जितेन्द्र डबल्स फाइनलमा पनि हारेको थियो।

यस्तै महिला सिंगल्सतर्फ प्रेरणा कोइरालाले माहिका राणासँग पहिलो सेट ६–० ले गुमाए पनि उपाधि जित्न सफल भइन्। प्रेरणाले सो फाइनल खेल ०–६, ६–३ र ६–२ को तीन सेटमा जित हात पारेकी हुन्। योसँगै माहिकाको दोहोरो उपाधि जित्ने आस पनि समाप्त भयोे।
अघिल्ला दिन राणा दिदीबहिनी माहिका र मायंकाले आईरा रावत र अभिलाषा विष्टको जोडीलाई ७–५ र ६–२ को सेटले हराएर महिला डबल्स उपाधि जितेका थिए। पहिलो सेटमा कडा प्रतिस्पर्धा भए पनि दोस्रो सेट एकपक्षीय भएको थियो। यस्तै पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई ६–१, ३–६ र १०–७ को ३ सेटमा हराएर कमल भण्डारी र प्रणव खनालको जोडीले उपाधि हासिल गरेको थियो।