श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

0
Shares

बाँके, (नेस)
बाँकेका एक महिलाको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ।
गनापुरकी जानकी गिरीलाई श्रीमान् प्रेम गिरीले कुट्दा मृत्यु भएको हो। ३ दिनअघि घरमा झगडा हुँदा प्रेमले श्रीमतीलाई कुटोले हानेका थिए। श्रीमान्ले कुटेपछि गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि नर्सिङहोम, नेपालगन्जमा ल्याइएको थियो। जानकीको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
मदिरा सेवन गरेका श्रीमान्सँग झगडा हुँदा कुटोले हानेको माइती पक्षले बताएका छन्। माइती पक्षले प्रेमका विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन्। श्रीमान् फरार रहेका छन्। उनी भारततिर भागिसकेको आफन्तीहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अरुण पौडेलले श्रीमतीको कर्तव्य गर्ने श्रीमान्को खोजी भइरहेको बताए। ‘हामीले हत्याराको खोजी गरिरहेका छौं।’ –एसपी पौडेलले भने।
मदिराले घरेलु हिंसा बढाएको छ। जिप्रकाको महिला सेलमा दैनिक आउने श्रीमान्–श्रीमतीका झगडाको तथ्यांकले पनि यस्तो देखाउँछ। घरेलु हिंसा अन्ततः अपराधमा परिणत हुने गरेको छ। विगतमा कचनापुर र कोहलपुरमा श्रीमतीले श्रीमान् र श्रीमान्ले श्रीमतीको हत्या गरेका घटना पनि मदिरासँग जोडिएर आएको थियो। हालै हिरमिनियामा श्रीमान्ले श्रीमतीको कर्तव्य गरेको कारण भने ‘परपुरुष’सँगको शंका थियो। यद्यपि, कचकच, झगडा, कुटपिट हुँदै जघन्य अपराधसम्म पुग्नुमा मदिरा जोडिएर आउने गरेको छ।