सशस्त्रद्वारा डेढ क्विन्टल ब्रोइलर कुखुरा बरामद

0
Shares

कपिलवस्तु, (नेस)
भन्सार छली अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सीमा नाकाबाट झन्डै डेढ क्विन्टल ब्रोइलर कुखुरा बरामद गरेको छ।
विशेष चेकजाँचका क्रममा कृष्णनगर नम्बर ३९ भन्सार गुल्मले कृष्णनगर नगरपालिका–१२ बेदमउबाट बरामद गरेको हो। सशस्त्रलाई देखेर तस्कर फरार भएपछि बेवारिसे अवस्थाबाट बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक मनोजकुमार धितालले जानकारी दिनुभयो। बरामद गरिएको कुखुरा नेपाली बजार मूल्य झन्डै ५० हजार रुपियाँ पर्ने गुल्मपति धितालले बताउनुभयो।
बरामद गरिएका ब्रोइलर कुखुरा पशु क्वारेन्टाइन प्रतिनिधि, नगरपालिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, मानव अधिकारकर्मीलगायतको रोहबरमा खाल्डो खनी नष्ट गरिएको धितालले जनाउनुभएको छ। ब्रोइलर, कोइलर जस्ता पक्षीजन्य वस्तुबाट बर्डफ्लु, स्वायनफ्लु जस्ता प्राणघातक रोगहरू फैलिने हुँदा नेपाल सरकारले आयातमा रोक लगाएको छ। भारतमा पक्षीजन्य वस्तु नेपालभन्दा निकै सस्तो मूल्यमा पाइने हुँदा तस्करी बढेसँगै पछिल्लो समय प्रहरी प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाएको हो।