पर्वत, (नेस)
विद्यार्थी संख्या न्यून भएकाले समायोजन गरिएका सामुदायिक विद्यालयको भौतिक सम्पत्ति अलपत्र भएको छ।
नजिक रहेको अर्को सामुदायिक विद्यालयसँग गाभिएका विद्यालयको भवन, फर्निचरलगायत सामाग्री बेवारिसे अवस्थामा छन्। पाँच वर्षदेखि पर्वतका सामुदायिक विद्यालय विद्यार्थी अभावका कारण समायोजन गर्न शुरु गरिएको हो।
पर्वतमा विद्यार्थी संख्या नभएकाले ३४ वटा विद्यालय गाभिएका थिए। सबैजसो विद्यालय प्राथमिक तहका छन्। जिल्लाका सात वटै स्थानीय तहमा रहेका विद्यालय नजिकका विद्यालयसँग गाभिएका हुन्। गाभिने विद्यालयमध्ये जलजला गाउँँपालिकामा ६ वटा, कुस्मा नगरपालिकामा ५ वटा, फलेबास नगरपालिकामा ८ वटा, महाशिला गाउँँपालिकामा ३ वटा, बिहादीमा ३ वटा र पैंयु गाउँँपालिकामा ५ वटा छन्।
सरकारले न्यूनतम् एक जना शिक्षकबराबर ४५ जना विद्यार्थी नभएका विद्यालयलाई नजिकको अर्को विद्यालयसँग समायोजन गर्ने नीति अवलम्बन गरेअनुरुप विद्यालय समायोजन भएका हुन्। सरकारको उक्त नीति भए पनि पर्वतमा एक जना शिक्षकबराबर ४ जना विद्यार्थी भएकालाई समायोजन भएको थिएन। त्यतिकै संख्यामा विद्यार्थी नभएका ३४ वटा विद्यालय भौगोलिक, जनसंख्याका आधारमा समायोजन गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाइ पर्वतका प्रमुख उद्धिराज पौडेलले जानकारी दिए। ‘भौगोलिक हिसाबले हदैसम्मको लचकता अपनाइए पनि विद्यार्थी नै नभएपछि विद्यालय गाभिएको हो’ –उनले भने।
स्थानीय तह कार्यान्वयन अघि गाभिएका विद्यालयको भौतिक सम्पत्तिको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिने गरिएको थियो। तर संघीयता कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचनपछि गाभिएका विद्यालयको सम्पत्ति व्यवस्थापन गर्ने जिम्मा जनप्रतिनिधिलाई दिने गरिएको छ। गाभिएका विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिने गरिएको इकाइ प्रमुख पौडेलले बताए।
जिल्लाका गाभिएका ३४ वटै विद्यालयको भौतिक पूर्वाधार जीर्ण बन्नुका साथै त्यहाँका सामग्री उपयोग गर्ने नमिल्ने अवस्थामा पुगेका छन्। भवन जीर्ण बनेका छन् भने कतिपय शुरुका चरणमा गाभिएका विद्यालय भग्नावशेषमा परिणत भएका छन्। राज्यको लगानीमा निर्माण गरेका भौतिक पूर्वाधार अलपत्र हुँदा पनि सम्बन्धित निकायले व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको गुनासो छ।











प्रतिक्रिया