गणेश घिमिरे, इलाम
पार्टीमा गुट र उपगुटको अन्त्य गर्न नेतृत्वलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सुझाएका छन्। सोमबार र मंगलबार इलाम सदरमुकाममा सम्पन्न विधान मस्यौदामा सुझाव संकलन कार्यक्रमका सहभागी पार्टीका नेता कार्यकर्ताले जनमत भएर पनि एकताबद्ध नहुँदा कांग्रेसको अवस्था बिग्रँदै गएको गुनासो पोखेका थिए।
मेचीका इलाम, झापा, पाँचथर र ताप्लेजुङका पार्टीका जिल्ला सभापति क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि एवं भ्रातृ संस्थाका प्रमुख सम्मिलित भेलामा उनीहरूले गुटबन्दीकै कारण निर्वाचनमा कांग्रेसले हार बेहोरेको स्मरण गराउँदै एकताबद्ध भएर कांग्रेस अघि बढ्न सुझाव दिएका थिए। एकताबद्ध भएर अघि बढ्न सक्ने प्रकारको विधान निर्माण गर्न सुझावसमेत दिएका थिए। उनीहरूले सबै क्षेत्र, वर्ग, लि· र समुदायको प्रतिनिधित्व र अपनत्व हुने गरी विधान निर्माणका लागि सुझाव दिएका थिए।
यस्तै युवा अवस्थादेखि नै कांग्रेसमा आकर्षण बढाउन १८ देखि २५ वर्ष उमेर समूहका लागि विशेष व्यवस्था गर्नुपर्ने, उमेरको हद तोकिनुपर्ने, चुस्तदुरुस्त र निर्णयक बनाउन छरितो कार्य समिति बनाउनुपर्ने, एक व्यक्ति एक पदको व्यवस्था गरिनुपर्नेलगायतको सुझाव दिएका थिए। कार्यकर्ताले सरकारको रवैयाप्रति कांग्रेसले खबरदारी गर्न नसकेको, गुटबन्दीले पार्टी कमजोर बन्दै गएको भन्दै नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए। कांग्रेसमा संरचनाको फेरबदल मात्र नभई संस्कार नै बदल्नुपर्ने आवश्यकता रहेको सहभागिले बताएका थिए। यस्तै नयाँ सरचनाअनुसार विधान आउन ढिलो भएकाले पनि समस्या भएको कार्यकर्ताको गुनासो थियो।
नेपाली कांग्रेसले मुलुकको नयाँ संरचनाअनुसार विधान तयार गर्ने उद्देश्यले देशभर १२ स्थानमा सुझाव संकलन गरिरहेको छ। यहाँबाट संकलित सुझाव विधान मस्यौदा समिति, केन्द्रीय समिति र महासमितिको बैठकमा छलफल गरी स्वीकृत गर्नेछ। महासमितिको बैठक आगामी ५ देखि ८ मंसिरसम्मका लागि तय भएको कार्यक्रम विधान मस्यौदा समितिका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढु·ानाले जानकारी दिए। सोही बैठकले देशभरबाट संकलित सुझावको आधारमा पार्टीको विधान तयार गर्ने उनले बताए।











प्रतिक्रिया