नेविसंघद्वारा आगजनी र तोडफोड

0
Shares

यमलाल भुसाल, बुटवल
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा शिक्षक, कर्मचारी भर्ती गर्दा क्याम्पस प्रमुखले आफ्ना मान्छेलाई प्रश्नपत्र आउट गराई चिट चोराएर नियुक्ति दिइएको भन्दै नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेका छन्।

क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारीमा भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरू नातावाद, कृपावाद, आसेपासे र चिट चोराएर नियुक्ति गरिएकोे आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघले लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेका छन्। उनीहरूले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीमा तोडफोड गरेका छन्। विद्यार्थीहरूले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरू भनसुनका आधारमा नातावाद, कृपावाद र आसेपासे भएको आरोप लगाएका छन्।

‘आफ्ना मान्छेलाई प्रश्नपत्र आउट गराएर, चिट चोराएर नियुक्ति दिइएको छ, हामी यो मान्दैनौं। तत्काल निर्णय नसच्चाए थप आन्दोलन चर्काउँछौं।’ –नेविसंघ केन्द्रीय सदस्य पाण्डेले भन्नुभयो। क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन नेविसंघले अल्टिमेटम समेत दिएको छ।

नेविसंघ केन्द्रीय सदस्य पाण्डे, लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति क्षेत्री ,नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा ,राममणिका सभापति चिरञ्जीवी बस्याल, लुम्बिनी इन्जिनियरिङ कलेजका सभापति दीपक फौजदार, स्ववियु सभापति स्वचित वाग्ले, सिद्धार्थका सचिव दीपक घिमिरेलगायतले क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन्।

क्याम्पस प्रशासनले भने वैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ। उता क्याम्पसमा आगजनी र तोडफोड गर्नेहरू भागेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ। घटनाका सम्बन्धमा अहिले क्याम्पस सञ्चालक समितिको बैठक बसिरहेको छ।