नेपाल समाचारपत्र, भक्तपुर
पूर्वउद्योगमन्त्री तथा भक्तपुर–२ का सांसद महेश बस्नेतले यो वर्ष भक्तपुरमा १० ठूला पुल निर्माण हुने बताउनुभएको छ। जगातीबाट धार्मिक पर्यटकीय केन्द्र डोलेश्वर र आशापुरी जाने प्रमुख मार्गस्थित चख्खु खोलामा निर्माण हुने पुलको शिलान्यास कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताउनुभएको हो।
सूर्यविनायक नगरपालिका–८ स्थित चख्खु खोला पुल शिलान्यास तथा सम्मान कार्यक्रममा बोल्दै सांसद बस्नेतले अबको २÷३ महिनामै कोटेश्वको जाम हट्ने दाबी गर्नुभयो। बस्नेतले भक्तपुरमा हाल ठूला पुल १० वटा र साना पुल ५ वटा योजनामा पार्न सफल भएको बताउँदै भक्तपुर अब विकास पथमा अघि बढेको बताउनुभयो।
सांसद बस्नेतले भक्तपुरमा उपत्यकाकै लामो तथा अग्लो झोलुंगे पुल तथा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको बताउँदै अब बन्जीजम्प गर्न भोटेकोसी पुग्नु नपर्ने बताउनुभयो। वर्षमा करिब २० लाख भक्तजन आउने गरेको तथ्यांक प्रस्तुत गर्दै बस्नेतले डोलेश्वर र आशापुरी क्षेत्रमा आउने भक्तजनलाई स्थानीय केही न केही उत्पादन बोकाएर पठाउन सके यस क्षेत्रमा रोजगारी बढ्नेदेखि जीवनस्तर उक्सने बताउनुभयो।
सिपाडोललाई नयाँ आधुनिक शहर निर्माण गर्ने तथा होमस्टेको विकास गरी जातीय, धार्मिक, सांस्कृतिक विकास गर्दै लैजाने प्रतिबद्धता जनाउँदै बस्नेतले विकास विरोधी दल मजदुर किसान पार्टीले भक्तपुरलाई प्रदेश राजधानी बनाउन हुँदैन भन्नेदेखि अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा समेत विरोध जनाएको बताउनुभयो। सांसद बस्नेतले जो–कोहीले विरोध गरे पनि रंगशाला, कबोर्डहल, सभागृह, प्राणी उद्यान, स्मार्ट सिटी, ७ सय शøयाको वीर अस्पताल निर्माण प्रक्रिया अघि बढिसकेको दाबी गर्नुभयो।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समाचारमा आएजस्तो सूर्यविनायक नगरपालिकाले कर वृद्धि नगरेको दाबी गर्दै सर्वसाधारणका लागि अत्यावश्यक १३ वटा सिफारिसलगायतमा निःशुल्क सेवा दिँदै अएको बताउनुभयो। जनताको सामान्य जीवनयापनमा आइपर्ने कुनै पनि प्रकारका कार्यहरूमा नगरपालिकाले करको वृद्धि नगरेको जानकारी दिँदै नगरप्रमुख थापाले जग्गाको प्लानिङमा मात्र कर बढाएको दाबी गर्नुभयो।
आफूहरूले सरकारले तोकेको भन्दा अलिकति पनि बढी सुविधा नलिएको बताउँदै प्रमुख थापाले ५ वर्षको अवधिमा सूर्यविनायक नगरपालिका विकासमा आमूल परिवर्तन गरेर छाड्ने वाचा गर्नुभयो। वडाअध्यक्ष एवं कार्यक्रममा सभापति किरण थापाले करिब ३० वर्षअघि निर्माण भएको साँघुरो पुलका कारण यातायात आवागमनमा बाधा पुगेका कारण करिब १ करोड ५० लाखको लगातमा पुल बन्न लागेको जानकारी दिनुभयो।











प्रतिक्रिया