विभाग एउटै हाकिम चार

0
Shares

ईश्वराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाको एउटै विभागमा ४ जना हाकिम खटाइएको छ। कामपाको सामाजिक विकास विभागमा एक विभागीय प्रमुख भए तापनि उही दर्जाका ४ जना निर्देशकलाई खटाइएको हो। विभिन्न विभागमा कर्मचारीको अभाव भइरहेको अवस्थामा कामपाले एउटै विभागका ४ जना निर्देशक खटाएको छ।

निर्देशक नूरनिधि न्यौपानेले प्रमुख पदको जिम्मेवारी सम्हाले तापनि सोही दर्जाका ४ निर्देशकलाई खटाइएको छ। सो विभागमा न्यौपानेसँगै यादव घिमिरे, नवराज थापा र रवीनमान श्रेष्ठलाई खटाइएको छ। न्यौपाने राजस्व समूहअन्तर्गतका कर्मचारी हुनुहुन्छ।

एउटै विभागमा ४ कर्मचारी खटाउन सक्ने कामपाले न्यौपानेबाहेक अन्यलाई खासै जिम्मेवारी दिइएको छैन। प्राविधिक पदमा कार्यरत निर्देशक रवीनमान श्रेष्ठलाई पनि सोही विभागमा खटाइएको छ। उता प्राविधिक समूहका निर्देशक भैरव बोगटीलाई प्रशासन विभागमा खटाइएको छ। प्राविधिक कर्मचारीलाई प्रशासन विभागको जिम्मेवारी दिएर कामपाले गलत गरेको विभागका कर्मचारीहरू बताउछन्।

सामाजिक विकास विभागका ३ जना निर्देशकले आफूखुसी काम गर्ने गरेका छन्। ‘के गर्ने तरु कुनै ठोस जिम्मेवारी दिइएको छैन, आफ्नै ढंगले काम गर्न थालेका छौं।’ –एक निर्देशकले नेपाल समाचारपत्रसँग भने। कामपाले उनीहरूलाई अहिलेसम्म के काम कसरी गर्ने भन्ने विषयमा टीओआरसमेत दिएको छैन।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठूलो विभाग भएकाले ४ निर्देशकलाई खटाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘काम थुप्रै छन्, त्यसैले ४ निर्देशक खटाएका हौं।’
सो विभागमा हालम्म एक जना पनि अधिकृत खटाइएको छैन। फाइल उठाउने, टिप्पणीको फाइल तयार गर्नेलगायतका महŒवपूर्ण काम हुने विभागमा हालसम्म अधिकृत नखटाउनु अचम्मको विषय बनेको छ। हाल सो विभागले सामाजिक संघसंस्था दर्ता गर्ने, वृद्ध भत्ता सिफारिस गर्ने, संस्कृति मन्त्रालयबाट प्राप्त रकम बाँडफाँड गर्ने, बालगृहको अनुगमन गर्ने काम गर्ने गरेको छ।

‘हालसम्म कुनै काम दिइएको छैन, आयो हाजिर ग¥यो आफूखुसी केही काम ग¥यो, गयो। अहिले हाम्रो कार्यालयको दिनचर्या यसरी नै चलेको छ।’ –एक निर्देशकले भने। ‘अहिले त यो विभाग हाकिमलाई डम्प गरेर राख्ने कार्यालयजस्तै भएको छ। काम दिइएको छैन, के गर्ने भनी अलमलमा परेका छौं।’ –अर्का निर्देशकको भनाइ छ। प्रवक्ता कार्कीले केही दिनपछि धेरै निर्देशक भएको विभागको कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउने बताउनुभयो।

उता प्राविधिक निर्देशक उत्तरकुमार रेग्मीलाई शहरी योजना आयोगमा खटाइएको छ। त्यस्तै महानगर प्रहरीका प्रमुखसमेत भइसकेका डीएसपी धनपति सापकोटालाई विपद् व्यवस्थापनमा खटाइएको छ। त्यस्तै सूचना प्रविधिसँग त्यति जानकार नभएका प्रशासन समूहका निर्देशक ध्रुव काफ्लेलाई सूचना प्रविधि महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। कामपाले माथिल्लो तहको कर्मचारीको व्यवस्थापन गर्न नसक्दा अधिकांश विभागको काम भद्रगोल हुन थालेको छ।

कामलाई थप व्यवस्थित गर्न केही माथिल्लो दर्जाका कर्मचारीलाई एउटै निकायमा सरुवा गरिएको प्रवक्ता कार्कीको भनाइ छ। माथिल्लो तहका कर्मचारीलाई एकै स्थानमा राख्दा काममा कुनै बाधा नपर्ने उहाँको तर्क थियो।