जनमतबाट नेपालमा परिवर्तन: ओली

0
Shares

काठमाडौं, (नेस)
सबै देशको साथ र सहयोगबाट नेपाललाई अल्पविकसित स्तरबाट स्तरोन्नति गरी विकसित बनाउन चाहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ।
नेपाली जनताले राणा र शाहवंशका निरंकुशताविरुद्ध संघर्ष गर्दै संविधानसभामार्फत संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको उहाँले बताउनुभयो। राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका ओलीले एसिया सोसाइटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो।

विभिन्न समयमा नेपालका सबै राजनीतिक दलले हतियार उठाए पनि बन्दुक त्यागेर जनताको मतबाट परिवर्तन र शान्ति स्थापना भएको उहाँको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै लगानीकर्तालाई अवसर दिन सकिने बताउनुभयो। ओलीले राष्ट्र संघको महासभालाई आज बिहीबार सम्बोधन गर्दै हुनुहुन्छ। यसैबीच राष्ट्र संघले आयोजना गरेको शान्ति स्थापना कार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि राष्ट्रसंघको पहललाई सघाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ।

जटिल राजनीतिक अवस्थामा पनि नेपालले सेना र प्रहरी पठाएर शान्ति स्थापनामामा सघाएको स्मरण गर्दै ओलीले शान्ति मिसनमा खटिँदा मारिएका नेपाली सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न मुलुकका समकक्षीसँग भेटर्वाता गर्नुभएको छ। उहाँले बुल्गेरिया, पाकिस्तानका विदेशमन्त्री र बेलायती उपविदेशमन्त्रीसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरैसी बीचको भेटमा अवरुद्ध रहेका सार्क संगठनका गतिविधिलाई सक्रिय बनाउने र दुवै मुलुकको सम्बन्धलाई अझ निकट बनाउने विषयमा छलफल भएको बताइएको छ। सो भेटवार्तामा परराष्ट्र सचिव शंकरदास वैरागी, सोही मन्त्रालयका सहसचिव भरतराज पौडेललगायतका अधिकारी पनि सहभागी हुनुहुन्थ्यो।