निर्मला हत्या प्रकरण: ‘स्थानीय प्रहरीको अक्षम्य गल्ती’

0
Shares

काठमाडौं, (नेस)
गृहमन्त्री रामबहादुर थापाले कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको बताउनुभएको छ। एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले प्रहरीले निर्मलाका बुबा यज्ञराज पन्तको समेत फर्जी औंठाछाप गराएको खुलासा गर्नुभएको हो।

संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुबाको औंठाछाप लगाइएको बताउनुभएको हो।
यता बलात्कारपछि हत्या गरिएकी पन्तका बारेमा शून्यबाट अनुसन्धान थालनी गर्नुपर्ने मानव अधिकारकर्मीले निष्कर्ष निकालेका छन्। उनीहरूले हत्या प्रकरणमा प्रहरीको संलग्नता रहेको भन्दै सरकारी तबरबाट गरिएको अनुसन्धानले दोषी किटान नगरेको भन्दै शून्यबाट अनुसन्धान गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

दुई महिनाअघि बलात्कारपछि हत्या गरिएको घटनाका बारेमा नेपाल मानव अधिकार संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ। सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष अर्यालले हत्याका दशीप्रमाणहरू नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष अर्यालले भन्नुभयो– ‘निर्मला पन्त हत्या घटना नियोजित भएकाले घटनाका सबै प्रमाणहरू नष्ट गरिएको छ। त्यसैले अनुसन्धान शून्यबाट थालिनुपर्छ, न्याय ढिलो पाउनुको कुनै अर्थ रहँदैन। निर्मलाको हत्यामा आशंका गरिएका व्यक्तिलाई प्रहरीले विभिन्न प्रकारको सोधीखोजी गरेको देखिँदैन।’

सरकारद्वारा गठित उच्चस्तरीय समितिका संयोजक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले हत्यामा प्रहरीमाथि आशंका गरिएको निष्कर्ष निकालेको छ। सो समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन पेस गरे पनि दोषी भने किटान गरेको छैन।