सूचना हक अभियान सम्मान कार्यक्रमः मन्त्री बाँस्कोटा

0
Shares

ललितपुर ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले धेरैमा राम्रो कुरालाई राम्रो भन्न सक्ने चेतनाको विकास नभएको बताउनुभएको छ । मिडिया एडभोकेसी गु्रपले आज यहाँ आयोजना गरेको ‘सूचना हक अभियान सम्मान कार्यक्रम’ मा उहाँले कतिपयले अश्लील साइट बन्द गर्ने मन्त्रालयको निर्णयको नबुझीकन आलोचना गरेको बताउनुभयो ।

हरेक कामलाई दलीय हिसाबले मात्र हेर्ने गरिएको बताउँदै मन्त्री बाँस्कोटाले नेपालमा अझै पनि आर्थिक र सामाजिक पछौटेपन कायम रहेकोले कानूनी अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “कानूनमा लैङ्गीक विभेद नभए पनि व्यवहारमा सुधार आएको छैन ।” राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले धेरै खालका अधिकारका बारेमा नागरिक जानकार नभएको बताउनुभयो । किसानका लागि मल, बीउदेखि धेरै कुरामा सहुलियतको व्यवस्था भएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर त्यसबारेमा थाहा नहुँदा नागरिकले उपयोग गर्न पाएका छैनन् ।”

आयोगका आयुक्त यशोदा तिमिल्सनाले शिक्षित व्यक्तिसमेत सूचना माग्नुपर्छ भनेर सचेत नभएको बताउनुभयो । मिडिया एडभोकेसी गु्रपका अध्यक्ष बबिता बस्नेतले सूचनाको हक कार्यान्वयन हुँदा महिला हिंसा न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । सोही कार्यक्रममा रिना श्रेष्ठ, गोमा थापा र देवकुमारी पराजुलीलाई सम्मान गरिएको थियो ।
रासस