फोहोरले मोहोर फलाउँदै

0
Shares

बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर फाल्ने चिन्ता थियो । नेपालगञ्जकै वडा नं. २० का अध्यक्ष कृष्ण कार्की राँझाचोक दक्षिण–पश्चिम सडकछेउमा व्यवस्थित तरकारी मण्डी बनाउने योजना बनाउदै थिए ।

यता फोहोर फाल्ने ठाउँ नपाएर छटपटी, उता खाल्डो पुर्न लाखौंको माटो चाहिने चिन्ता । दुवैको चिन्ता दूर हुने बाटो निकालियो, ‘खाल्डोमा फोहोर फाल्ने र माथिबाट माटो पटान गर्ने ।’ फूल्टेक्राको मस्जिद नजिकको खाल्डो भरिएपछि उपमहानगरपालिकाले राँझाचोकमा फोहोर फाल्न शुरु ग¥यो ।

नामै फोहोर । गन्हाउने त भइहाल्यो । राँझा विमानस्थल आउजाउ गर्ने भीआइपी, सुर्खेतरोडमा हिड्ने जोहीकोहीमात्रै होइन, आसपासका व्यक्तिहरु दुर्गन्धमा परे । विरोधका श्वरहरु बाक्लिन थाल्यो । फोहोर फाल्ने र उही दिन पुर्ने भनिएको थियो । बर्खाको बेलामा माटो नपाउदा केही दिन फोहोर फाल्ने तर पुर्ने काम भएन । विरोधको श्वरहरुलाई मत्थर पार्न वडाध्यक्ष कार्की बाहिर निस्के । विरोध मत्थर भयो पनि ।

नेपालगञ्ज उपमहानगरपालिकाले दुई महिनाबढी त्यहाँ फोहोर फाल्यो । सरसफाई शाखाका निरीक्षक अशोक केसीले ५० ट्रालीबढी माटो पटान गरेको बताए । अहिले त्यहाँ फोहोर फाल्न बन्द गरिएको छ । माटो पटानको काम भइरहेको छ ।

‘यति खाल्डो पुर्न ५२ लाख रुपैया चाहिन्छ भनिएको थियो । केही दिन अलिअलि गन्ध आएपनि मैले वडाबाट पैसा नै खर्च नगरेर खाल्डो पुर्ने काम गरे, वडाध्यक्ष कार्कीले भने, अब सम्याएर ठेला, घुम्ती, टहरा र व्यवस्थित तरकारी मण्डी बसाउँछु ।’

वडाध्यक्ष कार्कीले राँझाचोक वरिपरिबाट हटाएको टहराहरुलाई त्यहाँ व्यवस्थित तरिकाले राख्ने बताए । उनले कुनै सहकारीलाई व्यवस्थित तरकारी मण्डी चलाउन दिएर वडाका लागि आम्दानी बढाउने योजना सुनाए ।

हुन त, राँझाचोक आसपासमा टहरा, घुम्तीपसल, तरकारी मण्डी बनाउदा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत भइरहने ठाउँ भएकाले राम्रो नदेखिने भन्ने व्यक्तिको कमी छैन । व्यवस्थित तरिकाले राख्दा अशोभनीय नहुने वडाध्यक्ष कार्कीको भनाई छ । वडाध्यक्ष कार्कीले चोकमा तरकारी पसलहरु राख्दा सबैलाई पायक पर्ने र वडालाई आम्दानीको स्रोत हुने बताए ।