सबै जिल्लामा सामाजिक विकास कार्यालय

0
Shares

हेटौंडा ।
प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशअन्तर्गत् सबै १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको बताउनुभएको छ । त्यहाँबाट शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन, रेखदेख र नियन्त्रण गरिने उहाँले बताउनुभयो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री दुलालले अब प्रदेशका सबै मन्त्रालयको काम गर्ने तल्ला संरचना तयार पारेरमात्र काम अगाडि बढाउन लागिएको बताउनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्धति कायम गर्न पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

उहाँले स्वयम्सेवक परिचालन कार्यविधि निर्देशिका तयार भइसकेको बताउनुभयो । मन्त्री दुलालले अबको द्वैमासिक अवधिमा द्वन्द्वप्रभावितका लागि स्वरोजगारमूलक तालिम सञ्चालन गरिने, आपतकालिन बालउद्धार कोष सञ्चालन गरिने, जिल्लास्तरीय रंगशाला निर्माण कार्यक्रमलगायत धेरै कार्यक्रम गरिने बताउनुभयो ।

हाल नागरिकसामु काम गरेको नदेखिए पनि धेरै खालका कानुन, कार्यविधि बनाउने काम भएको उहाँको भनाइ छ । सामाजिक विकास मन्त्री दुलालले प्रथम द्वैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधयेकको मस्यौदा तयार भएर सदनमा पेश गरिएको जानकारी दिनुभयो ।

बिनियोजित बजेट तथा निर्माण गरिएका कार्यक्रमको द्वैमासिक विवरणबारे सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिनुभएको थियो । मन्त्रालयको वार्षिक कुल कार्यक्रम तथा संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमबारे जानकारी दिइएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो द्वैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशाला सम्बन्धि मापदण्ड निर्धारण, आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्ने जस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताउनुभयो ।

मन्त्रालयको २ अर्ब ९९ करोड ९८ लाख ६ हजार रुपियाँको वार्षिक स्वीकृत बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरेको छ । केन्द्र सरकार र मन्त्रालयसहित कुल बजेट ४ अर्ब २१ करोड ८५ लाख छ । जसअन्तर्गत् स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ ।