असोज १० गते रोल्पा बन्द

0
Shares

महेश न्यौपाने, रोल्पा ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले असोज १० गते जिल्ला वन्द आह्वान गरेको छ । जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको गैर न्यायिक गिरप्तारीको विरोधमा जिल्ला वन्द आह्वान गरेको सो पार्टीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वको नाममा एक विज्ञप्ती प्रकाशित गरि पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागि भएका सेक्रेटरी सुवेदीको गिरप्तारी गरिएको उल्लेख गरिएको छ । आफैले वनाएको संविधानको समेत धज्जी उडाउने गरि नेता सुवेदीको गिरप्तारी गरिएकोले त्यसको विरोधमा वन्द आह्वान गरेको वताइएको छ । एकातिर वार्ताको हल्ला गर्ने र अर्कातिर आफ्ना नेता कार्यकर्ताको गैरन्यायिक गिरप्तारीलाई निरन्तरता दिईरहने यो राज्यको फाँसीवादी चरित्र हो कार्यवाहक सेक्रेटरी विश्वले भने । जिल्ला सेक्रेटरी सुवेदी समेत जिल्ला कमिटी सदस्य सूर्यलाई समेत हिरासतमा राखिएको छ विश्वले भने । शान्तिपूर्ण कार्यक्रम गर्न नपाउने गरि राज्यले गरेको हर्कत निरंकुशताको परकाष्टा हो विश्वले भने ।

पार्टी अभियानका शिलसिलामा रोल्पा नगरपालिका १० धवाङ पुगेका सुवेदीलाई केही दिन अघि सोही स्थानवाट प्रहरीले पक्राउ गरेको थियो । जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा यस अघि पनि लामो समय हिरासत वसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन । सन्तोष तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन । उनी केही वर्ष अघि तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी भित्र वौद्धिक र हक्की नेता मानिने सुवेदी सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका विश्वासपात्र मानिन्छन ।