ब्रेल लिपी अनुसन्धान केन्द्र बनाउन दृष्टिविहीन क्षेत्रका अगुवा र सरोकारवालाको माग

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
दृष्टिविहीन क्षेत्रका अगुवा र सरोकारवालाले दृष्टिविहीनहरुले स्पर्शद्धारा पढ्न सक्ने लिपी (ब्रेल लिपी) को अनुसन्धान केन्द्र बनाउन सरकारसँग माग गरेका छन् । दृष्टिविहीनका लागि भक्तपुरको सुर्यबिनायकमा आयोजित वनभोज तथा अन्तरकृया कार्यक्रममा उनीहरुले हालसम्म ब्रेल लिपी अनुसन्धान केन्द नबनेकोमा गुनासो गर्दै सरकार र सरोकारवाला सबै मिली अनुसन्धान केन्द्र बनाउन पहल गर्नुपर्ने बताए ।

नेपाल नेत्रहिन संघ भक्तपुरका अध्यक्ष सुरेश राजभण्डारीले नेपालमा २०१७ सालदेखि ब्रेल लिपीको पढाई सुरु भएको बताउँदै हालसम्म यसको अनुसन्धान केन्द्र नबन्नु दुखद भएको बताउनुभयो ।अध्यक्ष राजभण्डारीले २०१८ मा पाटनको एक घरमा यसको अध्ययन सुरु भए पनि फेरि २०२१ सालमा कलेज अफ एजुकेसन को नाममा यसको पढाई भई अन्तत ः२०२३ सालदेखि हालसम्म निरन्तर किर्तीपुरको ल्यावोरोटरी स्कुलमा यसको शाखा खोलेर अध्ययन अध्यापन भैरहेको बताउनुभयो ।

नेपालमा ब्रेल लिपीका प्रबर्तक जंगबहादुर बोगटी भएको जानकारी दिंदै उहाँले जंगबहादुरकै नाममा ल्याव स्कुलमा अनुसन्धान केन्द्र खोल्नुपर्नेमा जोड दिनुभयो ।आफूले पनि ल्याबमै अध्ययन गरेको बताउँदै राजभण्डारीले २०२३ देखि हालसम्म एसएलसी उतीर्ण भएका दृष्टिबिहीनहरुको साझा थलो एल्मुनाई गठन गर्ने तयारी स्वरुप वनभोज कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।वनभोजमा ल्याव स्कुलका ८० जना भुतपुर्व दृष्टिविहीन बिद्यार्थीको सहभागीता रहेको थियो ।उनीहरुले ब्रेल लिपीका प्रबर्तक बोगटीको नाममा स्मारिका समेत प्रकाशन गर्ने तयारी गरेका छन् ।सरकारले दृष्टिबिहीनको अधिकारको प्रबद्र्धन गर्ने र निशुल्क शिक्षा र भत्ता ,रोजगारी दिनेभने पनि सबै दृष्टिबिहीनको त्यसमा पहुँच पुग्न नसकेको यस क्षेत्रका अगुवा निरा अधिकारीले बताउनुभयो ।

वनभोजमा सहभागी दृष्टिबिहीन तथा चर्चित गायक बिजय गुरुङ्गले देशका ७० बिभिन्न स्कुलमा दृष्टिबिहीनका लागि पढाई भैरहेको बताउँदै दृष्टिबिहीनका लागि रोजगारी र अवसरको खाँचो रहेको औंल्याउनुभयो ।

मुख्य रुपमा दृष्टिबिहीनलाई पुर्ण र अल्पदृष्टिबिहीन भन्ने गरिए पनि दृष्टिको आधारमा उनीहरुको अबस्था ११ प्रकारको हुने गरेको संघका अध्यक्ष राजभण्डारीको भनाई छ ।सरकारले नेपालमा दृष्टिबिहीनको संख्या ८० हजार छ भने पनि यो संख्या एक लाख रहेको दृष्टिबिहीन संघको दाबी छ ।भक्तपुरमा मात्र दृष्टिबिहीनको संख्या ५ सय ७ रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

संघका अनुसार हालसम्म १८० जना दृष्टिबिहीनले एसएलसी उतीर्ण गरीसकेकोमा ५० भन्दा बढीले प्रथम श्रेणी हासील गरेका छन् ।त्यसैगरी गोबिन्द आचार्य,श्वेता सिंह,अजन्ता पोखरेल लगायतले पिएडी(मास्टर अफ फिलोसोपी) हासिल गरेका छन्, भने २० जनाले स्नातकोत्तर तह (डिग्री) हासिल गरेका छन् ।

यस तथ्यांक बाट पनि सपाङ्ग ब्यक्ति जस्तै दृष्टिबिहीन पनि क्षमतामा कमजोर नभएको पुष्टि गर्दछ ।दृष्टिबिहीन भएर पनि ल्याब स्कुलकी पहिलो ब्याचकी बिद्यार्थी पुर्णदेबी कंसाकारले स्नातक सम्मको अध्ययन गरी सरकारी शिक्षक भएर अवकास समेत प्राप्त गरिसकेको बताउनुभयो ।६० जना भन्दा बढी दृष्टिबिहीनहरु गायन,शिक्षण,साहित्य,थेरापिस्ट,हस्तकला र प्रबिधिका क्षेत्रमा समेत सकृय रहेको उहाँको भनाई छ ।

गायनका क्षेत्रमा ईश्वर अमात्य,बिजय गुरुङ्ग,शम्भुकुमार मिलन,कृष्णभक्त राई,सृजना दाहाल लगायत चर्चित नाम हुन् भने कुमार थापा,डा.गोबिन्द आचार्य शिक्षण पेशामा सकृय छन् ।डा.आचार्य त दृष्टिबिहीन भएर पनि एकै ब्यक्ति प्राध्यापन,संगीत र साहित्य लेखनमा उत्तीकै सकृय र चर्चित छन् ।दृष्टिबिहीनका सहयोगी कृतन दुवालले घरबारबिहीन दृष्टिबिहीनको अबस्था झन् नाजुक रहेको बताउँदै सबै दृष्टिबिहीनलाई राज्यले शिक्षा,स्वास्थ्य,रोजगार र अवसर र सहयोगीको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिनुभयो ।