मानब बेचबिखनको आरोपमा एकजना पक्राउ, तीन फरार

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
मानब बेचबिखनको आरोपमा बैतडी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । अझै आरोपित तीन जना फरार रहेका छन् । पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ बर्षीय गणेश विष्ट रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । फरार हुनेमा बैतडीको सिगास गाउँपालिका २ गाँजरीकी २५ बर्षीय देवकी ढाँट, डडेल्धुरा आलिताल ८ का ५० बर्षीय शंकर अवस्थी र २८ बर्षीय ललित बिक रहेका छन् ।

पक्राउ परेका विष्ट र फरार रहेकाहरुलाई गत असारमा बैतडीको सिगासकी २८ बर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाई फकाई भारतको बैङ्गलोर पुर्याई बेचविखन गर्न खोजेको आरोप रहेको छ ।

पक्राउ परेका विष्टले बेच्न लगीएकी महिलासंग कुनै चिनजान नभएको र फरार रहेका भनिएकाहरुले चिनजान गराई दिएको बताईएको छ । प्रहरी निरीक्षक सिंहले भने “ पिडीत महिलाको उजुरीको आधारमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो, अन्यको खोजी कार्य जारी राखेका छा ।”

पिडित महिलालाई उनका आफन्तले भारतवाट उद्धार गरी सोमवार ल्याएका थिए ।
पक्राउ परेका विष्टमाथि मानव बेचबिखन तथा ओसारपोसार सम्वन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भईरहेको छ ।