अमेरिकी डलरको मूल्य उच्च हुँदा निर्माणधीन आयोजना प्रभावित

0
Shares

काठमाडौं, (नेस)
अमेरिकी डलरको मूल्यमा उच्च हुँदा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि विकास निर्माणको काममा भने नकारात्मक असर परेको छ।
विकास निर्माण एवम् जलविद्युत् आयोजनाका ठेकेदारलाई अमेरिकी डलरमा भुक्तानी दिनपर्ने तथा सामानहरू विदेशबाट ल्याउनु पर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको हो।
अमेरिकी डलरको मूल्य १ रुपियाँको हाराहारीमा रहँदा भएका सम्झौतामा आयोजना बढी मर्कामा परेका छन्।

स्रोतका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजनालगाष्तका परियोजना मर्कामा परेको बताइएको छ। हाल एक अमेरिकी डलर खरिदमा ११७ पुग्दा आयोजनाका लागत बढ्न थालेको छ। डलरको मूल्य अहिलेकै अवस्थामा अझै केअी दिन बढ्ने हो भने निर्माणीन आयोजनाको लागत करिब ४० प्रतिशतले वृद्धि हुने देखिएको छ।
अन्तर्राष्ट्रिय बजारबाट सामान ल्याउँदा डलरमा नै एलसी खोल्नुपर्ने बाध्यता रहेको छ। भारतीय मुद्रासँग नेपाली मुद्राको अपरिवर्तनीय भाउ रहँदा पनि समस्या थपिएको छ। जलविद्युत् आयोजनामा प्रयोग हुने हुने हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरणदेखि निर्माण सामग्री सबै विदेशबाट आयात हुने गरेको छ।

त्यस्तै डलरमा भुक्तानी दिने गरी सम्झौता भएका आयोजनाका कारण नेपाल विद्युत् प्राधिकरणलाई नोक्सान भएको बताइएको छ।डलर को नकारात्मक असरको प्रभाव कम गर्न सरकारले हेजिङ फन्ड स्थापना गर्ने भन्ने विषयमा छलफल चले पनि निर्णय हुन सकेको छैन।
आयातमा आधारित नेपालको अर्थतन्त्र निरन्तरको डलरको वृद्धिसँगै देशको व्यापारघाटा पनि बढ्ने विज्ञहरू बताउँछन्।