दोहोरो करमाथि छलफल शुरू

0
Shares

बुटवल, (नेस)
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले दोहोरो करको समस्या आउन नदिन व्यवस्थित रूपमा छलफल गरिरहेको बताउनु भएको छ।
रूपन्देही व्यापार संघको १७आंै साधारणसभालाई सोमवार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले करका सम्वन्धमा विस्तृत रूपमा छलफल शुरू भइसकेकाले दोहोरो करबाट उद्योगी, व्यापारीहरू मारमा नपर्ने बताउनुभएको हो।

उहाँले प्रदेशअन्तर्गतका स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकार जनताको हितका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्ने गरी काम गरिरहेको बताउनुभयो। जनताका आकांक्षा अनुसार काम भइ नसकेको स्वीकार गर्दै मुख्यमन्त्री पोेखरेलले सरकार सहि दिशामा अघि बढिरहेको दाबी गर्नुभयो।

देशको अर्थतन्त्रलाई दाहोरो अंकमा आर्थिक वृद्धि गर्ने संघीय सरकारको नीति अनुरूप नै प्रदेश सरकार पनि लागिपरेको बताउनुभयो। रूपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डेलगायतले धारणा राखेका थिए।