दुई महिनामा १ अर्ब राजस्व

0
Shares

विराटनगर, (नेस)
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको दुई महिनामा १ अर्ब ५ करोड १९ लाख ८९ हजार राजस्व संकलन गरेको छ। सो अवधिमा रहेको ९२ करोड ३० लाख ४५ हजार लक्ष्यभन्दा १३ दशमलव ९६ प्रतिशत बढी राजस्व संकलन भएको हो।

उक्त राजस्व गत आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो। आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलिप गौतमका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य सेवा शुल्कबाट १२ करोड ३९ लाख ५१ हजार र शिक्षा सेवा शुल्कबाट २ करोड ७६ लाख ७८ हजार राजस्व संकलन भएको थियो। सरकारले चालू आर्थिक वर्षबाट दुवै कर हटाएको छ। राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालय विराटनगरले ५ अर्ब २१ करोड ३४ लाख ६९ हजार राजस्व संकलन गरेको थियो। ५ अर्ब ४६ करोड ४९ लाख ५० हजारको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ४ दशमलव ६२ प्रतिशत कम असुली भएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा भने १६ दशमलव ७१ प्रतिशतले बढी राजस्व असुली गरेको थियो। सो कार्यालयले संकलन गर्ने राजस्वमा आय कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क बहाल कर र ब्याज कर पर्दछन्। त्यसमा १ अर्ब ६२ करोड २९ लाख आयकरबाट गत आर्थिक वर्षमा राजस्व संकलन भएको थियो।

त्यस्तै मूल्य अभिवृद्धि करको शीर्षकबाट १ अर्ब २१ करोड ८० लाख ७० हजार, अन्तः शुल्कबाट २ अर्ब ५ करोड ४४ लाख ९२ हजार संकलन भएको थियो।