बालाकोट बन्यो जाँडरक्सी र जुवातास नियन्त्रित वडा

0
Shares

पर्वत ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ वालाकोटका बासिन्दाले जाँडरक्सी नियन्त्रित गर्ने र जुवातास नखेल्ने सपथ खाँदै गाउँलाई जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा गरेका छन ।

बालाकोटबासीले सोमबार एक औपचारिक कार्यक्रममा आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने सामुहिक रुपमा सपथ खाँदै वडालाई जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा गरेका हुन । जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा भएको यो पहिलो हो ।

प्रतिनिधी सभाका साँसद पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल र गाउँपालिका अध्यक्ष राजु पौडेलको उपस्थितिमा यस्तो घोणा घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले शुरु गरेको अभियान सह्रानीय भएको बताए । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पु¥याउनका निम्ति सामाजिक विकृतिको पनि उन्मुलन आवश्यक रहेको बताउँदै महाशिला गाउँपालिकाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

वडा कार्यालयले सिलबन्दी वा अन्य सवै प्रकृतिका मदिराहरु विक्रि गर्न नपाईने, मदिराको उत्पादन ओसार पसार साथै विक्रि वितरण गर्ने र सेवन गर्ने गरेको पाईएमा दुवै जनालाई जरिवाना गर्ने निर्णय गरेको छ । त्यसैगरी मदिरा नियन्त्रणका लाग वडा समिति, गाउँपलिकाको कार्यालयका अतिरिक्त नेपाल प्रहरीको समेत सहयोग लिई आपसी समन्वयमा थप कारवाहि अगाडि बढाउने, यातायातका साधनहरुले विक्रि गर्ने उद्धेश्यले मदिरा ल्याएमा सो मदिरा जफत गरी प्रहरी जिम्मा दिने र ५ हजार जरिवाना गर्ने निर्णय पनि वडा कार्यालयले गरेको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरी होहल्ला गरेमा रु ५ सय जरिवाना, विक्रि गर्ने उद्धेश्यले मदिरा राखेमा रु १ हजार जरिवाना, जुवा तास खेलेमा खेल्ने व्यक्तिलाई रु २ हजार र खेलाउने व्यक्तिलाई रु २ हजार रुपैया तत्काल जरिवाना गराउनुका साथै कानून बमोजिम कारवाहि गर्ने निर्णय पनि गरिएको छ । यस वाहेक मुलुकी अपराध संहिता ऐन अनुसार पनि कारवाहिको प्रकृयामा ल्याईने वडा अध्यक्ष रोशन गुरुङले जानकारी दिए ।सांसद गिरीले जाँड रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए ।

महाशिला गाउँपालिकाले मातहतका सवै वडाहरुमा अभियानलाई तिब्रता दिएको छ । गाउँगाउँमा भेला र बैठकबाट सामुहिक प्रतिबद्धता जनाउँदै घोषणा कार्यक्रमलाई अघि बढाइएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ‘पहिलो वडाको रुपमा वडा नं. ३ वालाकोटलाई गरिएको छ, भोक्सिङ घोषणा हुने चरणमा छ’ उनले भने ‘अभियानमा शुरुमा निशेधित क्षेत्रका रुपमा नभई नियन्त्रित अभियानका रुपमा अघि बढाउने क्रममा छौँ’ अभियानलाई शुरुमा नै निशेधित गर्ने तर्फ अग्रसर हुदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित क्षेत्रका रुपमा घोषणा गरेर विस्तारै निशेधित क्षेत्रका रुपमा अघि बढ्ने उनले स्पष्ट पारे ।

घोषणा समारोहमा बोल्दै सांसद गिरीले दुब्र्यसनिजन्य सवै बस्तुहरु नियन्त्रण गर्नु नेपालमै नमुना कार्य भएको बताउँदै यसका लागि शरुमा आचरण सुधार गर्नुपर्ने बताए । यो घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिगो बनाउन स्थानीयवासीहरुको सहयोग आवश्यक हुने उनको भनाई थियो ।

यो अभियान पर्वत जिल्लाका सात स्थानीय तह अन्तर्गतकै पहिलो अभियान हो । अभियानले जिल्लाका सवै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले बताए ।