बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ

0
Shares

बाँके ।
बाँकेमा बाघको संख्या बढेको छ । गत पुसमा गरिएको गणना अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ वटा पुगेको हो । तीम महिना लगाएर गरिएको गणनाको रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ । पाँच वर्षअघि सन् २०१३ मा गणना गर्दा बाँकेमा चार वटा बाघ थिए ।

बासस्थान एवं बाघको संख्या बढाउनका लागि २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाँकेमा छिट्टै बाघको संख्या बढेको सम्बद्धहरु बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा बासस्थान र आहारा प्रजातीका जनावर पर्याप्त रहेकाले बाघको संख्या बढेको निकुञ्जका कोहलपुर सेक्टरका प्रमुख रविन चौधरीले बताए ।
एउटा भाले बाघलाई ५६ देखि ६२ वर्गकिलोमिटर र पोथी बाघलाई २६ वर्गकिलोमिटर ‘टेरिटोरी’ चाहिन्छ । बाँकेमा बाघका लागि पर्याप्त बासस्थान र आहरा छन् । बाँके निकुञ्ज मध्यवर्तीसहित ८ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । एउटा बाघले हप्तामा एउटा चित्तल खान्छ । ३० देखि ३५ किलोको एउटा चित्तल खाएपछि बाघलाई हप्ता दिन पुग्छ । निकुञ्जले सर्वेक्षण नै नगरेपनि चित्तल, बँदेल, चौका, निलगाई, चौका बाँकेमा पर्याप्त छन् ।

सरकारले सन् २०१० मा १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सन् २०१० मा एक सय २१ वटा रहेको बाघलाई सन् २०२२ मा दोब्बर बनाउने प्रतिबद्धता थियो । कोहलपुर सेक्टर प्रमुख चौधरीका अनुसार, सरकारले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दुई सय पचास वटा बनाउने प्रतिबद्धता गरेको थियो ।

बाघ दिवसको दिन संख्या सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिममा अवस्थामा निकुञ्ज पछि हटेको थियो । नेपालमा अहिले २ सय ३५ वटा बाघ रहेका छन् । चितवनमा ९३, बर्दियामा ८७, शुक्लाफाँटामा १६ र पर्सामा १८ वटा बाघ रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले नियमित अनुगमन गर्दा नै बाँकेमा बाघको संख्या बढ्ने थाहा भइसकेको बताए । निकुञ्जले यसअघि अनुगमनका क्रममा देखिएको भन्दै बाँकेमा १२ वटा बाघ रहेको बताएको थियो । त्यसमा दुई वटा बाघ चाहि बाँके र बर्दिया दुवैतिर देखिएको थियो ।

राम्रो सुरक्षा व्यवस्था, स्थानीयवासीको सहयोग, बर्दियासँग सीमाना जोडिनु, आहाराजन्य जनावर पर्याप्त रहनुलगायत कारणले बाँकेमा छिट्टै बाघको संख्या बढेको कोहलपुर सेक्टरका प्रमुख चौधरीले बताए ।

बाघको संख्या बढेसँगै बाँकेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने निकुञ्जले आशा गरेको छ । ‘धेरै मेहनत नगरेरै एकैछिनमा बाघ देखिने भएपछि त पर्यटक आइहाल्छन् नि ? पर्यटकलाई जंगल सफारी गराउन शुरु गरिसकेको बाँके निकुञ्जका कोहलपुर सेक्टरका प्रमुख चौधरीले भने, बाँके बाँकेको लागि उचित बासस्थान हो भन्ने सरकारी बुझाई सत्य सावित भएको छ ।’