शिक्षकको तलब भत्ताबाट बिद्यालयलाई प्रोजेक्टर

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
ठोरी गाउँपालिकामा रहेको एक माध्यमिक बिद्यालयका शिक्षकहरुले आफ्नो तलबभत्ताको रकमले एक थान प्रोजेक्टर खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।

ठोरी ४ को मावि बिजयबस्तिका शिक्षकहरुले तलबभत्ताको रकमबाट प्रोजेक्टर खरीद गरि बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।आइतबार प्रधानाध्यापकको कार्यकक्षमा शिक्षकका तर्फबाट रामचन्द्र महत्तोले सो सामग्री बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मनोज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

सो बिद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक अवस्था सुधार गर्न र शिक्षालाई आधुनिक प्रविधिमैत्री बनाउन स्वतस्फूर्त रकम संकलन गरेर प्रोजेक्टर खरिद गरिएको बिद्यालयका शिक्षक फुर्वा लामाले बताए ।उनका अनुसार खरिद गरिएको प्रोजेक्टरको मुल्य रु ३८ हजार रहेको छ। पछिल्लो समय शिक्षामा सूचना प्रविधिको प्रयोगको महत्व बढ्दै गएकाले आफुहरुले सवै शिक्षकको समन्वयमा सो सामग्री खरिद गरेको शिक्षक सन्तोष श्रेष्ठले बताए ।

प्रोजेक्टर खरीदले शिक्षामा सूचना प्रविधिको पहुँच बिस्तारमा मद्दत पुग्नुका साथै सम्बन्धित निकायलाई बदलिँदो समय अनुसार शिक्षामा सूचना प्रविधिको विकासको निमित्त विशेष कार्यक्रम र शैक्षिक सामग्री ल्याउन ध्यानाकर्षण समेत गरेको श्रेष्ठले बताए ।

शिक्षकहरुले आफ्नै पहलमा प्रोजेक्टर खरिद गरेकोमा खुसी व्यक्त गर्दै प्रधानाध्यापक नारायण लामाले प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ सुधार हुने अपेक्षा व्यक्त गरे ।

त्यसैगरि विव्यस अध्यक्ष श्रेष्ठले शिक्षकले शिक्षण सिकाई क्रियाकलापमा देखाएको सक्रियताको तथा लगनसिलताको खुलेर प्रशंशा गरेका छन् ।