अवैध कारोबार गरेको आशङ्कामा सरकारी निकायद्धारा छानविन शुरु

0
Shares

भद्रपुर ।
गोदाम राखेर अवैध कारोबार गरेको आशङ्कामा भद्रपुर बजारमा सरकारी निकायले छानविन शुरु गरेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको आदेशमा आन्तरिक राजस्व कार्यालय भद्रपुरको नेतृत्वमा भद्रपुर–५ मा रहेको बजरङ्गबली अर्डर एण्ड सप्लायर्सको गोदाममा छानविन शुरु गरिएको हो ।

विषेश सूचनाको आधारमा आन्तरिक राजस्व कार्यालयका अधिकृत पेशल न्यौपाने,सशस्त्र प्रहरी बल गण नम्बर–२ का डिएसपी दोर्णबिक्रम शाह लगायत गएको टोलिले तीन दिन देखी चारओटा गोदाममा छानविन शुरु गरिएको सशस्त्रका एसपी रेशमकुमार थक्सूले जानकारी दिए । सूचना आएपछि गोदामलाइ सुरक्षा घेरामा राखी कर कार्यालयबाट कर्मचारी आएर प्रहरीको सहयोगमा छानविन शुरु गरिएको एसपी थक्सूको भनाइ छ ।

सूचनाको आधारमा गोदाममा रहेका सत्र प्रकारका कपडाको छानविन भइरहेको आन्तरिक राजस्व अधिकृत न्यौपानेले बताए । अजय शाह सञ्चालक रहेको गोदाममा एकदिन भरसम्म छानविन गर्दा एउटा गोदाममा अवैध सामान फेला नपरेको न्यौपानेको भनाइ छ । बाँकी गोदाममा भने राजस्वले शिल गरिएको उनले जनाए ।
सिल गरिएको गोदामलाइ निरन्तरता दिइने उनले जानकारी दिए । छानविन सम्पन्न भइसकेपछि मात्र वृस्तीत विवरण जानकारी गराउन सकिने भएकोले हाल यसै भन्न नसकिने छानविनमा संलग्न अधिकारीहरुको भनाइ छ ।
वजरङ्वली अर्डर एण्ड सप्लायर्सको नाममा रहेको फर्म भने केही महिना अघि कर छलिको आरोपमा सुनसरी अदालतबाट झण्डै डेढ करोडको वैङ्क धरौटीमा छुटेका भद्रपुरका कारोबारी सञ्जीव घोषको रहेको बुझिएको छ । गोदाममा अवैध सामान रहेको आशङ्कामा गएको सरकारी टोलीलाइ घोष नआएसम्म गोदाम छानविन नगर्ने भन्ने व्यापारीको माग भएपछि काठमाडौबाट घोष आएपछि शुक्रबार साँझबाट छानविन शुरु गरिएको थियो । गोदामलाइ उल्लेखीय सङ्ख्यामा सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको छ ।
केहीदिन अघि विर्तामोड–५ स्थित त्रिवेणी चोकमा भण्डार गरी राखिएको गोदाममा सशस्त्र प्रहरीको सहयोगमा छापा मारेर करिव २६ लाखको लत्ताकपडा बरामद गरिसकेको छ । बरामद कपडा आवश्यक कारबाहीको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।