पलाष्टिक मुनि रात बिताउँदै डोटीका कैदीबन्दीहरु

0
Shares

विमल बिष्ट, डोटी ।
जिल्ला कारागार डोटीका कैदीबन्दीहरु प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणा कालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदि बन्दिहरु प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् । उता डोटीका प्रमुख जिल्ला अधिकारी यादबप्रशाद सुबेदीले कारागार चुहिने भएकाले कैदीबन्दिलाई समस्या भएको बताउनु भयो । ‘भवन पुरानो छ बेला बेलामा पानी पर्दा चुहिन्छ,उहाँले भन्नु भयो ‘कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौ,बजेट आएपछि मर्मत हुन्छ ।’

सरकारले जिर्ण भएको डोटी कारागार टालटुल गरेपनि पानी चुहिने काम नरोकिदा कैदिबन्दि लाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले पलाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । डोटी कारागारका छानामा राणा कालमा लगईएका सिलेटहरुपनि खिइएर झर्न थालेको कैदिहरु बताउछन् । उनिहरु भन्छन् ‘दिउसो हामी बाहिर चौरमा हुन्छौ, सामान्य हुरी चल्दा समेत सिलेट खस्न कस्को टाउकामा लाग्छनर मर्छन भन्ने तिन्ताले पिरोलेको छ ।’ पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताउछन् ।

आर्थिक अभावले कारागारको जीर्ण भवनमर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताउनु भयो । ‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ’, उहाँले भन्नु भयो ‘फर्स पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।’ माग अनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हाल सम्म मर्मत हुन नसकेको कर्मचारीहरु बताउछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी ४ गरी हाल कुल ४७ जना रहेका छन् । २५ जना मात्र कैदि बन्दिको क्षमता रहेको उक्त कारागारमा क्षमता भन्दाबढी कैदी राखिदा झन समस्या भएको बताईएको छ । कैदिबन्दि बढी हुदा खानेपानी र शौचालयमा जानका लागिसमेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको बताईएको छ । कैदीबन्दी भन्छन्, ‘निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।’ कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ ।