असोजमै हिमपात जनजिवन प्रभावित

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर गाउँको उच्च भेगमा असोजमै हिमपात भएको छ । लगातार दुई दिन देखी भैइरहेको वर्षाका कारण यस वर्षको पहिलो हिमपात असोज महिनामै भएको हो । तिकरमा आइतबार विहानै देखी हिमपात भैइरहेको सिमा प्रहरी चौकी तिंकरका प्रहरी नायव निरिक्षक धनबहादुर कठायतले जानकारी दिए ।

शनिबार विहानै देखी लगातार भैइरहेको वर्षाका कारण आइतबार विहानैबाट हिमपात भएको उनले जानकारी दिए । हिमपातसँगै बढेको चिसोले तिंकरका स्थानियको जनजीवन प्रभावित भएको छ । पानी सोमबार (भोली) सम्म पर्ने भएकाले अझ धेरै हिमपात हुन सक्ने अनुमान गरिएको छ । यसैविच दुई दिन देखी लगातार भैइरहेको वर्षाले पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको छ । कृषकहरुले लगाएको मकै, धान लगायतका अन्नबालीहरु पाकेर भित्र्याउन ठिक्क भएका वेला लगातार भैइरहेको वर्षाले वाली भित्र्याउन समस्या उत्पन्न भएको हो ।

धान मकै छर्ने बेलामा समय समयमा पानी परेकाले उत्पादन राम्रै भएको भए पनि बाली भित्र्याउने बेला लगातार भैइरहेको वर्षाले अन्नबाली कुहिने भन्दै कृषकहरुमा चिन्ता छाएको छ । जिल्लाका सबै जसो स्थानहरुमा अहिले मैक र धान बाली भित्र्याउने चटारो परिरहेको छ । पाकिसकेको बाली भित्र्याउने बेला भएको वर्षाले जिल्लाका कृषकहरु चिन्तित भएका छन् ।