कृत्रिम गर्भाधान प्रयोगशालावाट किसानले सेवा लिन थाले

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
जिल्लाकै पहिलो बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा स्थापना गरिएको कृत्रिम गर्भाधान प्रयोगशालाबाट स्थानीय किसानहरुले सेवा लिन थालेका छन् । गाई भैसीमा कृत्रिम गर्भाधान गराउने उद्देश्यका साथ स्थापना भएको प्रयोगशालाबाट किसानहरुले सेवा लिन थालेका हुन् ।

प्रयोगशालामा जानकी थलालको जर्सी गाईमा सफलता पूर्वक कृत्रिम गर्भाधान गरिएको सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल बैतडीका परियोजना संयोजक नागेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

मर्सिकोर नेपालको आर्थिक सहयोगमा सामाजिक चेतना तथा विकास संघ (साडा), बैतडी द्धारा संचालन गरिएको आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना दोश्रो चरणले डिलाशैनि गाउँपालिकाका आठ वटा समुदायमा र दोगडाकेदार गाउँपालिकाको दुईवटा समुदायमा कार्यक्रम संचालन गरिरहेको छ । यसै क्रममा परियोजनाले आर्थिक विकास र विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रमहरुलाई नियमितिता दिई समुदायलाई उत्थानशिलता तर्फ अग्रसर गराईरहको छ ।

डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका पशुपालनमा संलग्न घरधुरीहरुले यस व्यवसायबाट अपेक्षित फाइदा लिन सकेका छैनन् । स्थानिय नश्लका पशुबाट कम दुध उत्पादन, उन्नत जातका पशुहरुको उच्च मुल्य पर्ने, आहारा, गोठ सुधारको कमि तथा परम्परागत पशुपालन पद्धति आदि यस व्यवसायबाट व्यवसायिक रुपमा फाईदा लिन नसक्नुका मुख्य कारण हुन् । पशुपालन कार्यलाई व्यावसायिक रुपमा संचालन गर्न किसानहरुलाई पशु नश्ल सुधार तर्फ आकर्षित गरि उन्नत नश्लका पशुपालनमा संलग्न गराई यसबाट किसानहरुलाई फाईदा पुग्ने देखिन्छ । यसै सिलसिलामा परियोजनाले डिलाशैनि गाउँपालिका, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, र स्थानिय एग्रोभेटहरु संगको निरन्तर सहकार्य र समन्वयमा सात वटा समुदायमा कृत्रिम गर्भाधानको बारेमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ , जसमा १८० पशुपालक किसानहरु लाभान्वीत भएका परियोजनाका जिविकोपार्जन सुपरभाईजर दिपेन्द्र बोहराले बताए।

यसै गरि किसानहरुलाई पशुपालनका संगसंगै कृषि पेशालाई दिगो, शसक्तिकरण र व्यवस्थापन गर्नको लागी अर्गानिक खेति प्रणालीलाई जोड दिएको छ जसमा परियोजनाले समुदायमा रहेका किसानहरुलाई यस क्षेत्रमा बढदो मात्रामा रसायनिक विषादीको प्रयोग रोक्न, मानव स्वास्थमा प्रत्यक्ष असरबाट बचाउन र वातावरणलाई प्रदुषणबाट जोगाउनको लागी स्थानिय स्तरमा सहजैरुपमा उपलब्ध हुने वनस्पतिहरु र पशुहरुको मुत्र संकलन बाट जैविक विषादी तयार गरी खेति प्रणालीमा सुधार ल्याउनको लागी जैविक विषदी तयार गर्ने सिपमुलक तालिमहरु पनि परियोजनाको कार्यक्षेत्रमा संचालन गरिएको जसमा १४४ जना किसानहरुको सहभागीता रहेको थियो ।

यसै गरि कृत्रिम गर्भाधानको सेवा विस्तार र जनचेतनाको लागी अझ समन्वय र सहकार्यमा जोड दिई अन्य समुदाय र वडाहरुमा संचालन गरिने र साथै अर्गानिक खेति प्रणलाीको लागी पनि आवश्यक पहल गरिने कुरा साडा नेपाल बैतडीका परियोजना संयोजक नागेन्द्र प्रसाद भट्टले बताए ।

गत भदौमा मर्सीकोर नेपालको आर्थिक सहयोगमा डिलाशैनी गाउँपालिकाको समन्वय तथा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको सहयोगमा स्थापना भएको कृत्रिम गर्भाधान प्रयोगशालाले सजिलो भएको किसानहरुले बताएका छन् । प्रयोगशाला नजिकै स्थापना भएपछि किसानहरुलाई उन्नत जातको पशुचौपायाको पालन गर्न सहज हुने विश्वास समेत गरिएको छ ।