कौरामा बुकी फूल सार्वजनिक


गायिका केशमाया गुरुङ केशुको कौरा गीतका बुकी फूलको अडियो भिडियो सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्देशक तथा संगीतकार नारायण रायमाझी, लोकगायक भीम दुरा, पत्रकार विदुर गिरी, निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठलगायतले उक्त एल्बम विमोचन गरेका हुन्।

गीतमा केशुको साथमा गायकगायिका दुर्गा गुरुङ, कुम गुरुङ र लक्ष्मी राना मगरको स्वर रहेको छ। रेशम गुरुङको लय तथा संगीत रहेको गीतमा शब्द रेशम र गायिका केशुको रहेको छ। एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै गायक दुर्गा गुरुङले बन्दीपुरको आकर्षक लोकेसनमा खिचेको भिडियो र गीत निकै राम्रो भएको र दर्शकले पनि मन पराउने बताए।

कार्यक्रमका प्रमुख अतिथि संगीतकार नारायण रायमाझीले गुरुङ संस्कृतिमध्येको कौरा गाउने संस्कृतिलाई गीतले धान्ने चर्चा गर्दै अहिले सिँगो कौरा संस्कृति गायक दुर्गा गुरुङ तथा रेशम गुरुङले धानिरहेको बताए। ‘सार्वजनिक गीतको शब्द, लय, छायांकनस्थल तथा कलाकारहरूको अभिनय निकै राम्रो छ। यो गीतमा सबै जनाले निकै मेहनतका साथ काम गरेको देखिन्छ। आजको दिन मेरो लागि पनि स्मरणीय दिन बनेको छ।’ –रायमाझीले भने। बन्दीपुरको धरमपानी गाउँमा छायांकन गरिएको गीतको रमाइलो भिडियोमा गायिका केशुको साथमा, विष्णुवीर थापा, टेक गुरुङ, चौबहादुर गुरुङ र टार्जन गुरुङको अभिनय रहेको छ। निर्भना कला केन्द्रको प्रस्तुति रहेको उक्त गीत मार्मिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। उक्त युजिक भिडियोको निर्देशन पर्शन गुरुङले गरेका हुन् भने छायांकन शक्ति प्रज्वल घिमिरेको रहेको छ। गीतको एरेन्ज दुर्गा गुरुङले गरेका हुन्।